विदेशीले जे भन्छन् त्यही गर्ने लाचार सरकार छ : महासचिव पोखरेल

विदेशीले जे भन्छन् त्यही गर्ने लाचार सरकार छ : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा बढ्दो निराशाको कारण गलत तत्वहरू सक्रिय हुन थालेका बताएका छन् ।

प्रेस चौतारी नेपाल महोत्तरीले शनिबार जलेश्वरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यसले समाजलाई असुरक्षित बनाउने हो कि भन्ने चिन्ता बढेको बताए ।

नेपालको हितको पक्षमा अन्तराष्ट्रिय सम्बन्धलाई प्रयोग गर्ने कुरामा पनि सरकार असफल भएको उनले बताए । ‘सरकार नेपालका सरोकारका विषयलाई सम्बोधन गर्नै सक्दैन, विदेशीले जे भन्छन्, त्यही गर्नुपर्ने लाचार सरकारका रूपमा अहिलेको सरकारको अवस्था छ,’ उनले भने ।

अहिले सरकारमा रहेका दलहरूबीच पनि खटपट सिर्जना भएको उनले बताए । त्यसो भएकोले सरकारबाट कुनै आशा गर्न नसकिने उनले टिप्पणी गरे ।

जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्नु आजको प्रमुख अभिभारा रहेको उनले बताए । त्यो काम नेकपा एमालेबाहेक अरूले गर्न नसक्ने देखिएको पोखरेलले बताए । त्यसको लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने भएकाले एमालेले मिसन २०८४ भनिरहेको पोखरेलले बताए ।

उनले अस्थिरता निर्माण गर्न खोजेका छन्, उनीहरू समाधान नभएर समस्या मात्र भएको बताए । उनीहरूले देशमा समाधान दिन नसक्ने पोखरेलले प्रष्ट पारे ।

मुलुक संघीयताको कारण कमजोर नभएको पनि उनले बताए । संघीयतामा गएका मुलुकहरूले गरेको प्रगतिको उदाहरण दिँदै उनले संघीयता विरोधीले गरेको भ्रामक प्रचार मात्र भएको स्पष्ट पारे । कुनै पनि खालको अस्थिरता नेपाल र नेपाली जनताको लागि उचित हुन नसक्ने पोखरेलले बताए ।

नेपाललाई प्रयोगशाला बनाउने काम भइरहेको बताउँदै उनले यसरी देशले सही बाटो लिन नसक्ने उनले बताए । क्षेत्रीय पार्टीहरू असफल भइसकेकाले अब राष्ट्रिय पार्टीलाई बलियो बनाउनुको विकल्प नभएको पोखरेलको धारणा छ । क्षेत्रीय राजनीतिक दलले देशको विकास गर्न नसक्ने बताउँदै उनले देश बनाउन बलियो राष्ट्रिय शक्ति नै आवश्यक रहेको बताए ।

समृद्धिको लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको उनले बताए । विश्वको विकास र समृद्धिलाई हेर्दा यही कुरा देखिएको उनले प्रष्ट पारे । ‘जसले काम गर्न सक्दछ, त्यसलाई लामो समय काम गर्न दिने हो भने देश बन्दछ, जसले काम गर्न सक्दछ, त्यसैलाई जिम्मा दिने गरी बलियो राजनीतिक शक्ति निर्माण गर्नुपर्छ देशको लागि,’ उनले भने ।

वर्तमान सरकारको जनविरोधी, राष्ट्र विरोधी र असक्षमताले सीमा नाघेको उनले बताए । यसविरुद्ध जनतामा जाने सोच एमालेले बनाएको जानकारी दिए । संसद्लाई पनि आगामी दिनमा त्यहीँअनुसार उपयोग गर्ने उनले बताए ।

‘जनता सरकार विरुद्धमा छन्, व्यवस्थाविरुद्ध होइन भन्ने कुराको सन्देश दिने सोचका साथ हामी अगाडि बढ्ने तयारीमा छौं,’ उनले भने ।

केही समय अगाडि एमालेले मध्यपहाडमा समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरेको उनले स्मरण गराए । यात्राले नागरिकमा आशा जगाउने काम गरेको उनले बताए । अब हुलाकी मार्ग केन्द्रित त्यस्तै खालको यात्राको पार्टीले तयारी गरिरहेको उनले जानकारी दिए । मधेशको विकास समृद्धिको लागि अब नेकपा एमाले आवश्यक छ भन्ने सन्देश दिन जरुरी रहेको पोखरेलले बताए ।

उनले एमाले सरकारबाट हटेपछि विकासका काम रोकिएका बताए । ‘ऋण उठाएर शिक्षक कर्मचारीको तलब खुवाउनुपर्ने अवस्थामा राज्य पुगेको छ, विकास निर्माणका काम ठप्प छन्,’ पोखरेलले भने ।