अब मधेश सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

अब मधेश सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेश सरकारको नेतृत्व अब नेकपा एमालेले गर्ने बताएका छन् ।

आज बुधबार नेकपा एमाले बाराको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मधेशमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै अब मधेशको नेतृत्व एमालेले लिन चाहेको बताए ।

मधेश प्रदेश सरकारको नेतृत्व लिएर एमालेले कसरी विकास गर्छ भन्ने कुरा देखाउन चाहेको पोखरेलले धारणा राखे ।

मधेशको विकास र समृद्धिका लागि योजनाबद्ध पहलकदमी अघि बढाउने पार्टी नेकपा एमाले भएको उनले बताए । तराईको मुख्य सडकको रूपमा रहेको हुलाकी सडक नेकपा एमालेकै पालामा बनेको स्पष्ट पारे । नेपाली जनता र मधेशका जनताको हितको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीसँग आँखा जुधाएर कुरा गरेको उनले बताए ।

जिम्मा लिएर १० वर्षसम्म भारतले रोकेको हुलाकी सडक केपी ओली प्रधानमन्त्री हुँदा बनाएको उनले स्मरण गराए । ‘तराई–मधेशको विकासका लागि नेतृत्व गर्ने पार्टी हो, नेकपा एमाले, त्यो पार्टीलाई क्षेत्रीय पार्टीहरू मधेश विरोधी भन्ने गर्दछन्,’ उनले भने ।

मधेशका जनतामा देखिएको निराशा नै आफूलाई मधेशवादी भन्ने दलहरूले लिएको बाटो भएको पोखरेलले बताए । मधेशको निराशा तोड्ने र आशा जगाउने काम गर्ने पार्टी नेकपा एमाले भएको उनले दाबी गरे । मधेशमा देखिएका नयाँ नयाँ काम नेकपा एमालेले नै गरेको पोखरेलले बताए ।

विकास नगर्नेहरू मधेशका समर्थक र विकास गर्ने पार्टी मधेश विरोधी हुन नसक्ने उनले बताए । यो सच्चाइलाई बुझ्न आवश्यक रहेको उनको धारणा छ ।

हिमालबाट बग्ने पानीबाट मधेशमा सिँचाइ गर्नुपर्छ भनेर भेरी डाइभर्सन तथा सुनकोसी–मरिण डाइभर्सनको काम नेकपा एमालेले अघि बढाएको उनले बताए । ‘सुनकोसी–मरिण डाइभर्सनको सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

विगतमा एमालेलाई तराई–मधेशमा छिर्न नदिने भनेर जनताका सपना र विकासलाई रोक्ने काम भएको उनले बताए । एमाले बेलैमा सरकारमा गएको भए मधेश अहिले निकै अगाडि बढिसकेको हुने उनले स्पष्ट पारे । नेपालको विकास र समृद्धि देख्न चाहनेले नेकपा एमालेलाई रोक्ने र विभाजित गर्ने काम गरेका उनले बताए ।