शान्ति सैनिकको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च राख्न कामु प्रधानसेनापतिको निर्देशन

शान्ति सैनिकको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च राख्न कामु प्रधानसेनापतिको निर्देशन


काठमाडौं – नेपाली सेनाका कामु प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली शान्ति सैनिकको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च राख्न निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि कंगो र दक्षिण सुडानमा तैनाथ हुन जाने फौजको तालिमको निरीषण गर्दै थापाले उक्त कुरा बताएका हुन ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको प्रि डिप्लोयामेण्ट तालिमको निरीक्षणपछि मिशनहरुमा सहभागी हुन जाने शान्ति सैनिकहरुलाई बुधवार सम्बोधन गर्दै कामु सेनापति थापाले मिशनले दिएको कार्यहरु जस्तोसुकै कठिन वा प्रतिकुल परिस्थितीको बावजुद आफ्नो पेशागत ज्ञान र दक्षताको प्रयोग गरी कार्य सम्पादन गरेर नेपाली शान्ति सैनिकको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च राख्न निर्देशन दिएका हुन ।

कार्यक्रममा कामु प्रधानसेनापति थापाले संयुक्त राष्ट्र संघको मुख्य मुल्य मान्यतालाई विशेष ख्याल राखी ईमान्दार, दक्ष तथा कुशल शान्ति सैनिकको रुपमा कार्य सम्पादन गरेर देखाउन सकेमा मात्र सच्चा शान्ति सैनिकको रुपमा परिचय स्थापित गर्न सकिने बताए ।

उनले नेपाली सेनाको प्रतिष्ठा बढाउन तथा शान्ति स्थापना कार्यको प्राप्त जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, गैर सैनिक व्यक्तिको सुरक्षा जस्ता विषयहरुलाई सदैव आत्मसाथ गरी पेशागत रुपमा दक्ष र निश्वार्थ भावनाले प्रेरित, अनुशासित र कर्मठ रही काम गर्न आवश्यक रहेको समेत उल्लेख गरे ।

निरीक्षणको क्रममा कामु प्रधानसेनापति थापाले मिशनमा तैनाथ हुन जाने गण तथा गुल्महरुले मिशन ईलाकामा आईपर्ने चुनौती र गर्नुपर्ने कार्यहरु सम्बन्धी देखाएको विभिन्न अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गरेका थिए ।