श्रममन्त्री विष्ट भन्छन् -पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छ

श्रममन्त्री विष्ट भन्छन् -पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छ


पोखरा – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको बिहिबार शुभारम्भ गरेका छन् । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने छ ।

आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो । सो अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गरे ।

उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताए ।

उनले सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको भन्दै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए ।

उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे । सो अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जाने नवलपरासीका खड्गबहादुर गुरुङ र युनाइटेड अरब इमिरेट्स जाने चन्द्रबहादुर गुरुङलाई राहदानी प्रदान गरे ।