गलत समाचारले मेरो चरित्र हत्या गर्ने काम भयो : व्यवसायी अधिकारी

गलत समाचारले मेरो चरित्र हत्या गर्ने काम भयो : व्यवसायी अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–निर्माण व्यवसायी शारदा अधिकारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसंग नाम जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती प्रकट गरेका छन् ।

केही साप्ताहिक पत्रिका र अनलाइन मिडियामा ‘विप्लवलाई इन्काउन्टर गर्न गृहमन्त्री रामबहादुर थापा बादलमाथि दबाव’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन् । उनले आफुले पत्रिकाले दावी गरेजस्तो यो बारेमा कुनै बैठक नगरेको र कुनै नेता विशेषसंग एक शब्द छलफल समेत नगरेको स्पष्ट पारेका छन् ।

माओवादी निकट व्यवसायी अधिकारीले बुधवार सांझ वक्तव्य जारी गर्दै अनलाइन र साप्ताहिकमा प्रकाशित समाचार आफ्नो चरित्र हत्या गर्ने उदेश्यले आएको भन्दै भ्रममा नपर्न सवैमा आग्रह गरेका छन् ।

अधिकारीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘म जहिले व्यवसायीक पत्रकारिता र मर्यादित पत्रकारीताको पक्षमा छु,तर हुंदै नभएको घटनामा मेरो नाम जोडेर गरिएको गलत प्रचारप्रती भने मेरो आपत्ती छ र यसको म कडा शव्दमा खण्डन गर्न चाहन्छु । ’

नेकपाका महासचिव विप्लवलाई इन्काण्टर गर्नुपर्छ भनेर नेताहरुलाई दबाव दिएको भन्नेबारेमा प्रकाशित भएको समाचारमा कुनै सत्यता नभएको भन्दै अधिकारीले त्यसविरुद्धमा आफुले कानुनी उपचार खोज्ने बताएका छन् ।

अधिकारी शैलुङ कन्स्ट्रक्सन कम्पनीका संचालक हुन् । उनि माओवादी शहिद परिवारका सदस्य समेत हुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल बसिरहेको घर खुमलटारको घर समेत उनै व्यवसायी अधिकारीको हो ।

नुवाकोट स्थायी घर भएका अधिकारी स्थापीत व्यवसायी हुन् । उनलाई माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी भनिएपनि अधिकारी भने व्यवसायीक रुपमा काम गर्ने निर्माण व्यवसायीका रुपमा चिनिन्छन् ।

विप्लव माओवादीले पनि जनायो आपत्ती

निर्माण व्यवसायीसँग कमिशन मागेको भ्रम सिर्जना गरिएकोमा विप्लव नेतृत्वको नेकपाले कडा आपत्ती जनाएको छ । “विप्लव कार्यकर्तालाई मोटो रकम नबुझाएसम्म काम अघि बढ्न नसक्ने भएकोले इनकाउण्टरमा उत्रिन प्रचण्ड र ओलीसँग माग गर्ने” आशयको समाचार प्रकाशित भएपछि पार्टीले आपत्ती व्यक्त गरेको हो ।

“हामीमाथि दमन गर्ने षडयन्त्रस्वरुप यस्तो प्रचार गरिएको छ ।” नेकपाका प्रवक्ता प्रकाण्डले भने, “हामी राज्यसत्ता र त्यसका अंगहरुलाई अस्वीकार गर्छौं तर हामीले आतंक मच्चाएर कुनै पनि व्यवसायीसँग कमिशन मागेका छैनौ र त्यो हाम्रो नीति पनि होइन ।”प्रवक्ता प्रकाण्डले नेकपाका गतिविधिबाट अत्तालिएकाहरुले माओवादीहरुलाई नै आपसमा लडाएर दमनको श्रृंखला शुरु गर्न खोजेको बताए ।

 

“हामी राष्ट्रिय पूँजिको विकास हुनुपर्छ भन्ने मान्यताको वकालत गर्दै आएका छौं । हामीले कुनै पनि राष्ट्रिय व्यवसायीलाई हतोत्साही पार्ने काम गरेका छैनौं । हामीले कमिशन मागेको कुरा विल्कूल भ्रम हो र पार्टीका विरुद्ध दमन गर्न गरिएको षड्यन्त्र मात्र हो ।”व्यवसायीबीच छलफल भएको भनेर नेकपाका नेता तथा कार्यकर्तामाथि दमन गर्ने र राज्यआतंक मच्चाउने षडयन्त्रस्वरुप यसप्रकारको समाचार सार्वजनिक भएको उनले बताए ।