शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो


काठमाडौँ – मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार बुधबार भने पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.७२ बिन्दुले घटेर एक हजार ११२.२३ बिन्दुमा झरेको छ ।

ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५७ बिन्दुले घटेर २३६.३४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६२ कम्पनीको छ लाख ८१ हजार १३८ कित्ता शेयर १६ करोड ६१ लाख ७३ हजार ६२८ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका १० उपसमूहमध्ये उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह ८।६९ बिन्दुले बढ्दा बैंकिङ ८.७१, होटल ७.८३, विकास बैंक १३.४२, जलविद्युत् २०, वित्त ०.३१, निर्जीवन बीमा १०५.४५, अन्य ४.२७, लघुवित्त १९.३३ र जीवन बीमा १६७.८३ बिन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका छन् । यस्तै श्रीराम सुगर मिल ९.४०, जेबिल्स फाइनान्स ३.०८ र पूर्णिमा विकास बैंकका शेयरधनीले दुई प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज पाँच प्रतिशतले गुमाएका छन् ।