काठमाण्डु – साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आज मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
त्यस्तै आज सेन्सिटिभ सूचक ७.२६ अंकले घटेर ५०२ दशमलव ५९ अंकमा रोकिएको छ । आज बजारमा २ सय २९ वटा सेयर कारोबारमा सामेल भएकामा ६५ लाख २९ हजार कित्ता सेयर बिक्री भएको छ ।
४६ हजार २ सय ८७ पटक खरिदबिक्री भएसँगै बजारमा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँको किनबेच भएको नेप्सेले जनाएको छ ।
आज लगानी, माइक्रोफाइनान्स, अन्य, उत्पादन, फाइनान्स, जलविद्युत्, विकास बैंक र व्यापार समूहको सूचक राताम्य छन् भने बाँकी सूचक हरियो छन् ।
आज इमर्जिङ नेपाल लिमिटेडका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन् भने सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले पनि ६.६४ प्रतिशत कमाएका छन् । यसबाहेक सोल्टी होटलका सेयरधनीले ६.५१ प्रतिशत, युनाइटेड आईडीआई मार्दीका लगानीकर्ताले ५.८१ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीले ४.८७ प्रतिशत आम्दानी गरेका छन् ।
यता नेपाल टेलिकमका सेयरधनीले भने ५.१३ प्रतिशत गुमाएका छन् । त्यस्तै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ४.८६ प्रतिशत, सिंगटी हाइड्रोका लगानीकर्ताले ३.९१ प्रतिशत, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.४५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले ३.२७ प्रतिशत गुमाएका छन् ।
सर्वाधिक कारोबार भने आज नेपाल टेलिकमको भएको छ । कम्पनीको ३४ करोडको, अपि पावरको १२ करोडको, एनएलआईसीको ११ र पुनर्बीमा कम्पनीको १० करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया