अहिलेको प्रणालीलाई बलियो बनाउने गरीमात्रै संविधान संसोधन हुन्छ : महामन्त्री शर्मा

अहिलेको प्रणालीलाई बलियो बनाउने गरीमात्रै संविधान संसोधन हुन्छ : महामन्त्री शर्मा


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको बताएका छन् ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन बैठकपछि गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि भ्रष्टाचारको फाइल खोल्न चुनौती दिदैँ कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताएका हुन् ।

‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ’, उनले भने ।

त्यस्तै शर्माले अहिलेको प्रणालीलाई बलियो बनाउने गरीमात्रै संविधान संसोधन हुने बताए । ‘नेपाली कांग्रेस सामेल भएर हुने कुनैपनि संसोधनको प्रक्रियाको सन्दर्भमा अन्य कुराको जेजे आशंका गर्नुस्, अन्य कुरामा अविश्वास गर्नुस्। कांग्रेससँग असहमति राख्नुस् । तर के कुरामा कांग्रेसप्रति कहिल्यै शंका नगरे हुन्छ भने संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता सहितको जे प्रणाली छ। त्यो प्रणालीलाई बलियो बनाउने गरी मात्रै संसोधन हुन्छ। त्यो भन्दा दायावायाँ हुँदैन’, उनले भने ।