काठमाण्डु-बङ्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले १५ अगस्तलाई राष्ट्रिय शोक दिवस मनाउने अपीललाई नयाँ सरकारले खारेज गरेको छ ।
छोरा सजीव वाजिदले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा हसिनाले १५ अगस्ट १९७५ मा कसरी बंगलादेशका तत्कालीन राष्ट्रपति मुजिबुर रहमान र उनको सम्पूर्ण परिवारको निर्ममतापूर्वक हत्या गरिएको थियो भन्ने कुरा उल्लेख गरेकी छन् । त्यसै सन्दर्भमा उनले १५ अगस्तलाई राष्ट्रिय शोक दिवस मनाउन अपील गरेकी हुन् ।
छोराको पोस्टमा हसिनाले देशमा दंगा गर्नेलाई कारबाही गर्न माग गर्दै आफ्ना पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिक तोडफोड गरिएको घटनामा न्याय पाउनुपर्ने माग गरेकी छन् ।
बुबालाई सम्झेपछि शेख हसिनाले देशको पछिल्लो अवस्थाबारे बोल्दै गत जुलाईदेखि अहिलेसम्म आन्दोलनका नाममा भएका हिंसा र आगजनीका कारण देशका कैयौँ निर्दोषले ज्यान गुमाउनु परेको उल्लेख गरेकी छन् ।
हसिनाले यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै अगस्ट १५ लाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउन देशवासीलाई अपिल गरेकी छन् ।
स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा महिनौँदेखि चलेको हिंसात्मक आन्दोलनका कारण शेख हसिना अगस्ट ५ का दिन देश छाडेर भारत भागेकी हुन् ।
हाल बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ ।
छोरा वाजिदको ह्यान्डलबाट गरिएको पोस्टमा शेख हसिनाले भनेकी छन्, ‘१५ अगस्ट १९७५ मा राष्ट्रपिता र तत्कालीन राष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको निर्ममतापूर्वक हत्या गरिएको थियो । म उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँसँगै मेरी आमा बेगम फजिलातुन नेसा, मेरा तीन भाइ–स्वतन्त्रता सेनानी क्याप्टेन शेख कमाल, स्वतन्त्रता सेनानी लेफ्टिनेन्ट शेख जमाल र शेख कमाल र जमालकी नवविवाहित श्रीमती सुल्ताना कमल र रोजी जमालको पनि निर्मम हत्या गरियो ।’
हसिनाले त्यतिबेला १० वर्षका मात्र भएका कान्छो भाइ शेख रसेलको समेत हत्या गरिएको दुःख व्यक्त गरेकी छन् ।
यसपछि उनले वर्तमान अवस्थाबारे लेखेकी छन्, ‘गत जुलाईदेखि अहिलेसम्म आन्दोलनका नाममा हुने तोडफोड, आगजनी र हिंसाका घटनामा हाम्रो देशका कैयौँ निर्दोष नागरिकले ज्यान गुमाएका छन् । विद्यार्थी, शिक्षक, गर्भवती महिला, प्रहरी अधिकारी, पत्रकार, कार्यकर्ता, नेता, अवामी लिगका कार्यकर्ता आतंकवादी हमलाको सिकार भए र ज्यान गुमाए ।’
बंगलादेशका जनतालाई सम्बोधन गर्दै हसिनाले १९७५ अगस्ट १५ मा आफू र बहिनी रेहानाले यो नरसंहार भएको धानमण्डी क्षेत्रमा रहेको घर बंगलादेशका जनतालाई समर्पण गरेको उल्लेख गरेकी छन् । यो घर अहिले संग्रहालयमा परिणत भएको छ ।
ढाका ट्रिब्यूनले देशको जनप्रशासन मन्त्रालयलाई उद्धृत गर्दै राष्ट्रिय शोक दिवसका रूपमा मनाइने अगस्ट १५ को बिदा यसपटक रद्द हुन सक्ने जनाएको छ ।
यस दिन सन् १९७५ मा शेख मुजिबुर रहमान र उनको परिवारका १५ सदस्यको हत्या भएको थियो ।
प्रतिक्रिया