एजेन्सी – अब मेरो साथमा रहन तिमिलाई कुनै अधिकार छैन, मलाई केही फरक पर्दैन तिमी मर या बाँच ।’ ‘अब भन्न केही बाँकी रहेन । तिम्रो यो प्राणघातक मौनताले मलाई तनाव दिएको छ । ’
प्रेमिकाको धोकामाथि लेखिएका यी पंक्ति कुनै सायर वा कविले लेखेका होइनन् । यस पंक्तिका सिर्जनाकार हुन् दुबईका शासक एवम् उपराष्ट्रपति शेख मोहम्मद अल मकतूम । जसकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैन दुबई छोडेर लण्डन पुगेकी छिन् ।
संयुक्त अरब इमिरेट्सको शाही परिवारमा यस्तो हुनु आफैँमा अचम्म लाग्दो घटना हो । राजकुमारी अहिले सेन्ट्रल लण्डनको कुनै ठाउँमा बसेको बताइएको छ । राजकुमारी हया घोडसवारीमा भाग लिने गर्थिन् तर यो वर्ष भएको रोयल एस्कटमा उनी उपस्थित भइनन् ।
राजकुमारी हयाले आफ्नो ज्यानको खतरा महसुस गरिरहेको बीबीसी स्रोतले उल्लेख गरेको छ । यसको कारण उनी आफ्ना श्रीमानविरुद्ध कानुनी लडाईं लड्ने तयारीमा थिइन् ।
कुन देशकी हुन् राजकुमारी हया ?
राजकुमारी हयाको जन्म सन् १९७४ मे महिनामा भएको हो । उनका पिता जोर्डनका राजा हुसैन थिए । उनकी आमाको नाम आलिया अल–हुसैन हो । राजकुमारी हया तीन वर्षको हुँदा नै उनकी आमाको हेलिकप्टर दुर्घटनामा ज्यान गयो ।
राजकुमारी हयाले आफ्नो बाल्यकाल ब्रिटेनमा बिताएकी हुन् । उनले अक्सफोर्ड युनिभर्सिटीबाट राजनीति, दर्शन र अर्थशास्त्रको अध्ययन पूरा गरेकी छिन् । उनले पुराना केही अन्तर्वार्तामा आफू बाजलाई पाल्न र ठूला मेशिनको प्रयोगमा रुची राख्ने गरेको बताएकी छिन् । यसबाहेक उनले आफू जोर्डनमा ठूलो ट्रक चलाउने लाइसेन्स पाउने एकमात्र महिला भएको दाबी पनि गरेकी छिन् ।
घोडसवारीमा राजकुमारी हया
जब उनी २० वर्षकी भइन् तब उनले घोडसवारीलाई आफ्नो करियरको रुपमा छानेकी थिइन् । घोडसवारीमा राजकुमारी हयाले सन् २००० को ओलम्पिक खेलमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन् । उनी उक्त ओलम्पिक खेलमा आफ्नो देशको ध्वाजावाहक पनि थिइन् ।
सन् २००४ को अप्रिल १० मा राजकुमारी हयाले दुबईका शासक र संयुक्त अबर इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मदसँग विवाह गरिन् । त्यतिबेला राजकुमारी ३० वर्षकी थिइन् । शेख मोहम्मद ५३ वर्षका थिए । राजकुमारी हया शेख मोहम्मदकी छैटौँ श्रीमती थिइन् । उनको विभिन्न श्रीमतीबाट २३ जना सन्तान भएको बताइने गरिएको छ ।
राजकुमारी जस्तै शेख मोहम्मद पनि घोडाको पारखी थिए । उनी गो–डोल्फिन नामको घोडाको तबेलाका मालिक पनि थिए । यी दुईको विवाह अम्मानमा भएको थियो ।
विवाहपछि राजकुमारी हयाले थुप्रै पटक शेख मोहम्मदसँगको आफ्नो सम्बन्धबारे जानकारी दिँदै आफू अत्यधिक खुशी भएको बताएकी थिइन् । इमिरेट्स वुमेन म्यागजिनको २०१६ को अंकमा राजकुमारी हयाले शेख मोहम्मदबारे भनेकी थिइन्, ‘उनले जे गर्छन् त्यो अद्भूत हुन्छ । म हरेक दिन भगवानलाई धन्यवाद अर्पण गर्छु म उनको यति नजिक छु ।’
किन आयो सम्बन्धमा खटपट ?
गएको वर्ष शेख मोहम्मदकी जेठी छोरी शेखा लतिफा देशबाट भाग्ने कोसिस गरिन् । यहीँबाट राजकुमारी हया र शेख मोहम्मदबीचको सम्बन्धमा पनि खटपट सुरु हुन थाल्यो । एउटा भिडियोमा ३३ वर्षकी राजकुमारी शेखा लतिफाले उनको परिवारमा कसैलाई पनि स्वतन्त्रता नभएको र आफूलाई मनपर्ने कुरा गर्ने अधिकार नभएको बताइकी थिइन् । जुन भिडियो संसारभर फैलिएको थियो ।
त्यतिबेला शेखा लतिफा समुद्रको बाटो हुँदै संयुक्त अरब इमिरेट्सबाट भाग्न सफल भएको मिडिया रिपोर्टमा प्रकाशित भए । भाग्नमा उनलाई फ्रान्सेली एक नागरिकले सहयोग गरेको बताइएको थियो । भारतको समुद्री सीमा नजिकैको सेनाले उनलाई रोकेर पुनः दुबई पठाएका थिए ।
शेखा लतिफाशेखा लतिफा
डिसेम्बरमा उनको आयरल्याण्डका पूर्व राष्ट्रपति मेरी रोबिनसनसँग बसिरहेको तस्बिर सार्वजनिक भयो । दुबईको प्रशासनले घर छोडेर भागेकी शेखा लतिफा अन्य देशमा उत्पीडनको शिकार हुने भन्दै दुबईमा नै सुरक्षित राखिएको बताएको थियो ।
यही घटनापछि र उनका श्रीमान र परिवारका सदस्यले उनीमाथि दवाब बढाउन थाले । अवस्था कस्तोसम्म भयो भने उनी आफूलाई दुबईमा असुरक्षित महशुस गर्न थालिन् ।
सम्बन्धविच्छेदको तयारी
शेख मोहम्मदले अहिलेसम्म राजकुमारी हयाले दुबई छोडेको कुनै आधिकारिक बयान दिएका छैनन् । उनले १० जूनमा इन्स्टाग्राममा एउटा धोकासम्बन्धी कविता लेखेका थिए ।
यतिमात्रे होइन शेख मोहम्मदको आफ्नो नामको एउटा वेब साइट छ जसमा उनी धेरैजसो कविता लेखिरहन्छन् ।
टाइम्स अफ लण्डनको एक रिपोर्ट अनुसार राजकुमारी हयासँग उनका ११ र सात वर्षका दुई सन्तान पनि भागेका छन् । यी बच्चाहरुको नाम शेख जायद र शेखा अल जलिला बताइएको छ ।
शाही परिवारको एक नजिकको स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार राजकुमारी हया ब्रिटेनमा राजनीतिक शरण लिने कोसिस गरिरहेकी छिन् । साथै उनी शेख मोहम्मदसँग सम्बन्धविच्छेद लिने तयारीमा पनि छिन् ।
अहिले शेख मोहम्मद लगातार कविता लेखिरहेका छन् । उनले केही समय अघिमात्रै लेखेका छन् :
‘मलाई एउटा पीडा भएको छ जुन कुनै औषधिले निको हुँदैन,
कसैबाट पनि यसको उपचार छैन ।’
प्रतिक्रिया