प्रदर्शनकारीको भीड निवासमा प्रवेश गरेपछि बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडिन

प्रदर्शनकारीको भीड निवासमा प्रवेश गरेपछि बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडिन


काठमाण्डु – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनीले देश छोडेका छन् । बिबिसी हिन्दी सेवाले हसिना देश छोडेर ‘सुरक्षित ठाउँ’ गएको उल्लेख गरेको छ। प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने माग विद्यार्थीहरूको छ ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाबीच प्रधानमन्त्री शेख हसिनाको राजिनामाको मागमा अडिग छन् ।

हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए ।

हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको खबरहरू आएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बिबिसी, अल्जजिरा लगायतले स्‍थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचार लेखेका छन्।