कोशी प्रदेशका सांसदले कांग्रेसलाई जोगाए, माननीयज्यूहरूलाई नमन गर्छु : डा. कोइराला

कोशी प्रदेशका सांसदले कांग्रेसलाई जोगाए, माननीयज्यूहरूलाई नमन गर्छु : डा. कोइराला


विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशका सांसदहरूले कांग्रेसलाई जोगाएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज शुक्रबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘अहिले नेतृत्वहरूले प्रदेश माओवादी दिँदा कांग्रेसीजनको अनुहार कस्तो हुन्थ्यो ? त्यो हामीले बुझ्न सकेनौं । हामी सशक्त रहिरहँदा हामीले त्यसलाई नजरअन्दाज गरेका हौं । म यहाँका माननीयज्यूहरूलाई नमन गर्छु ।’

उनले कोशी प्रदेशमा बजेटपछि सरकारले गति लिने बताए । सरकारलाई धेरै दिन अन्योलमा राख्न नहुने भएकाले बजेटभन्दा पछि सरकार बनाउन उनले सुझाव दिए ।

एमालेलाई प्रदेश सरकार सहमतीय बनाउन सुझाव दिँदै आएको उनले बताए । ‘म त पहिलेदेखि नै भन्दै छु, सहमतिको सरकारमा जाऊँ । एमालेलाई सरकार नछाड्नुस् भनेको हो । मिलेर अघि बढौं भनेको । उहाँहरूबीच पनि कठिनाइ होला,’ उनले भने ।

टिकटक बन्द गर्ने निर्णय ठीक नभएको उनले बताए । ‘नियमन गर्ने उपाय त छन् नि हामीसँग । नियमन नगर्ने अनि तिहारसँगै हठातमा सरकारले टिकटक बन्द गर्नु गैरजिम्मेवार कुरा हो तर अब अदालतले जे गर्ला, अदालतको निर्णय त मानेकै छौं,’ उनले भने ।

राजनीतिक दलका कारण गणतन्त्रमाथि प्रश्न उठेको उनले बताए । उनले भने, ‘गणतन्त्र राम्रो व्यवस्था हो तर राजनीतिक दलकै कारण गणतन्त्रमा प्रश्न चिह्न लागेको मात्रै हो ।’