कांग्रेस तत्काल सरकारमा जाँदैन : डा. कोइराला

कांग्रेस तत्काल सरकारमा जाँदैन : डा. कोइराला


काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक–पटक सरकार परिवर्तन भएका बताए ।

उनले भने, ‘राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हासिल गर्न सकिँदैन ।’

मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्युनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाले बताए । राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन,’ उनले भने । सुशासन, पारदर्शिता र भ्रष्टाचारका विषयमा छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने उल्लेख गर्दै उनले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनर्विचार गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

उनले सरकारी र निजी क्षेत्रको स्वामित्वको अवधारणामा रहेर सञ्चालित, युवा पुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडको भविष्य उज्ज्वल रहेको बताएका छन् ।