कांग्रेसलाई सरकारमा जान हतार छैन : शेखर कोइराला

कांग्रेसलाई सरकारमा जान हतार छैन : शेखर कोइराला


काठमाण्डु – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएका बताए । कोइरालाले भने, ‘राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हाँसिल गर्न सकिदैन ।’

मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाको भनाइ थियो । राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने उनले बताए । कोइरालाले भने, ‘कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन ।’

सुशासन, पारदर्शीता र भ्रष्टाचारका विषयमा छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने उल्लेख गर्दै नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनःविचार गर्न आवश्यक रहेको बताए । उनले सरकारी र निजी त्रको स्वमित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडको भविष्य उज्ज्वल रहेको बताए ।