शेखर कोइरालाको आरोप– नेपाली सेनालाई कमजोर बनाउने खेलमा अ‍ोली सरकार !

शेखर कोइरालाको आरोप– नेपाली सेनालाई कमजोर बनाउने खेलमा अ‍ोली सरकार !


विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले जनताको जिउ–धनको रक्षा गर्न नसकेको भन्दै सत्तामा रहने नैतिकता वर्तमान सरकारले गुमाएको दाबीसमेत गरे ।

‘न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चार जगतलाई कमजोर बनाउने खेलमा सरकार अहिले लागिरहेको छ’, नेता कोइरालाले भने । उनले सम्पत्ति शुद्धीकरणलगायतका महत्त्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहत ल्याएर भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको आरोप लगाए ।

‘न्यायपालिका निरीह छ, मिडियामाथि पनि हस्तक्षेप भइसकेको छ । सम्पत्ति शुद्धीकरण आफू मातहत ल्याउने काम भएको छ’, कोइरालाले भने, ‘अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागि परेको छ ।’ तर, उनले सरकारले सेनालाई कसरी कमजोर बनायो भन्नेबारे भने केही खुलाएनन् । कोइरालाले न्यायलयमा दलीय छाया परिसकेको उल्लेख गर्दै यसकै कारण पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास घटेको बताए ।