काठमाण्डु-नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मात्रै सुरु गर्ने तयारी आन्तरिक रूपमा गरिएको छ । सभापति देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने निकट नेताहरूलाई जानकारी दिएका छन् ।
वर्तमान गठबन्धन सरकार निर्माणका बेला नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा २०८३ असारसम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र त्यसपछि आम निर्वाचनसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ । यही सहमति देखाएर वर्तमान केन्द्रीय समितिमा ८० प्रतिशत बढी हिस्सा होल्ड गरेका सभापति देउवाले २०८३ असारपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
देउवाले पार्टी नेतृत्वमा आफूको अन्तिम कार्यकाल भएकाले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने चाहना राखेको उनी निकट एक पदाधिकारीले जानकारी दिए । ‘उहाँ (देउवा)को यो पार्टी नेतृत्वमा अन्तिम कार्यकाल हो । उहाँले कांग्रेस एमालेबीच भएको सहमति अनुसार प्रधानमन्त्री हुने समय निश्चित भइसकेकाले प्रधानमन्त्री भएपछि महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना रहेको नेताहरूलाई बताउनु भएको छ । उहाँको चाहनालाई सम्मान गर्नेमा नेताहरू एकमत हुनुहुन्छ,’ ती पदाधिकारीले भने ।
कांग्रेस विधानमा एक व्यक्ति दुई कार्यकालमात्रै सभापति बन्न पाइन्छ । देउवाको यो दोस्रो कार्यकाल भएकाले अबको महाधिवेशनमा विधान अनुरुप सभापति बन्न पाउँदैनन् ।
देउवामा आफू प्रधानमन्त्री नहुँदै पार्टी महाधिवेशन गरेमा संसदीय दलको नेताबाट कतै हट्न पर्ने हो कि भन्ने डर छ । अहिले नै नेता डा. शेखर कोइरालाको नेतृत्वमा संसदीय दलको नेता परिवर्तन गर्ने कसरत भइरहेको छ । त्यो बुझेर देउवाले त्यस्तो रणनीति अघि सारेको हुनसक्ने नेताहरू बताउँछन् ।
कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी मंसिरमा सकिन्छ । अर्थात नियमित रूपमा कांग्रेसको १५ औं महाधिवेशन आगामी मंसिरभित्र गरिसक्नुपर्छ । तर, कांग्रेसको इतिहासमा अहिलेसम्म नियमित रूपमा ४ वर्षमै महाधिवेशन भएर नेतृत्व हस्तान्तरण भएको रेकर्ड देखिन्न ।
त्यही दृष्टान्त देखाएर देउवाले पनि विधानले दिएको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बहुमतले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने तयारीमा छन् । केन्द्रीय समितिमा देउवाको ८० प्रतिशत होल्ड रहेकाले सहजै पास हुने अवस्था छ ।
एक वर्ष समय थपिएको बेलामा कांग्रेस एमाले सहमतिमा दरार नआएमा देउवा प्रधानमन्त्री बनिसक्छन् । त्यसपछि महाधिवेशनको प्रक्रिया सुरु हुनेछ । जुन देउवाले आफू निकटस्थ नेताहरूलाई बताउँदै आएका छन् ।
प्रतिक्रिया