देउवा दम्पत्ती उग्रतारा मेला डुल्दै

देउवा दम्पत्ती उग्रतारा मेला डुल्दै


काठमाण्डु-कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा डडेल्धुराको देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् ।

सभापति देउवा र पत्नी राणा यतिवेला गृहजिल्ला डडेल्धुरामा छन् । देउवा एक साताअघि नै उता पुगेका हुन भने आरजु शनिवार पुगेकी हुन् ।

अहिले आरजु परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छिन् । मन्त्री राणा पनि पति देउवाका साथ गृहजिल्लामा लाग्ने विभिन्न धार्मिक तथा सांस्कृतिक मेलामा सहभागी भएकी हुन् । देउवा दम्पत्ति जिल्लाकै प्रसिद्ध मन्दिर उग्रतारामा लाग्ने मेलामा सहभागी भएका छन् ।

शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको छ । उग्रताराको प्रसाद ग्रहणपछि देउवाले त्यहाँस्थित वेद विद्याश्रमको पनि अवलोकन गरेका छन् । विद्याश्रमका लागि आफूले भौतिक पूर्वाधार निर्माणमा प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गर्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुन्छ ।

मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी गराए ।
उग्रताराको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुखशान्ति र मनोकामना पूरा हुने जनविश्वास छ ।