स्याङ्जा – सहकारीको रकम अपचलनको मुद्धामा पक्राउ पुर्जी जारी भएपछि स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शर्माले शालिग्राम शर्माले सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा अध्यक्ष कुँवरको संलग्नता देखिएपछि पक्राउ पूर्जी अनुमति लिइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले कुँवरले सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने, बचतकर्ताको रकम पनि आफ्नो व्यक्तिगत स्वार्थमा लगाउने गरेको खुलेपछि पक्राउ पुर्जी जारी गरिएको जनाएको छ ।
उपरीक्षक शर्माले मंगलबारदेखि मोवाइल अफ रहेका अध्यक्ष कुँवरको खोजी भइरहेको जानकारी दिए ।
नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुँवरले ०७६ ७७ सालमा आफू सहकारीको सचिव हुँदा बचत रकम नेताहरुलाई आफूखुसी चलाउन दिएको र आफूले पनि चुनावमा खर्च गरेको छानबिनको क्रममा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कुँवरसहित ४ जनालाई पक्राउ पुर्जी जारी गरेकोमा ३ जना थुनामा छन् ।
सहकारीका विरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्ले, सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालीन सचिव तथा अहिलेका अध्यक्ष तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक विरुवा शाखामा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रकम अपचलनको आरोपमा थुनामा रहेका प्रहरीले जानकारी दिएको छ ।
सहकारीका प्रबन्धक ध्रुवनारायण श्रेष्ठको जाहेरीका आधारमा कुँवरसहित ४ जनालाई पक्राउ पुर्जी जारी गरिएको स्याङ्जा प्रहरी प्रमुख शर्माले जानकारी दिए ।
प्रतिक्रिया