उदयपुर – कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले अहिलेको अवस्थामा राजतन्त्र फर्किने कुरा दिवास्वप्न हुने बताएका छन् ।
उदयपुरको रौतामाई गाउँपालिको मुर्कुचीमा ३ महिने जरा केन्द्रित अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रमको आईतबार उद्घाटन गर्दै नेता राईले राजतन्त्र फर्किन सम्भव नभएको बताए ।
जनता अगाडि बढ्न चाहेकाले त्यसको लागि संविधान संशोधनको माध्यमबाट अझ फराकिला बाटाहरू तयार गरेर अघि बढ्ने कुरामा जोड दिए ।
प्रचण्ड, राजवादी, रवि र बालेनहरूको नारा अलग–अलग भए पनि लोकतन्त्र र गणतन्त्रलाई समाप्त पार्ने कार्यमा लागेको नेता राईको आरोप छ । उनले भने, ‘एकातिर प्रचण्ड, अर्कोतिर राजवादी, रवि, बालेनहरूको अलग–अलग नारा, मुद्दा, गतिविधि भए पनि अराजक र अस्थिर शक्तिहरूलाई मलजल गर्ने, धर्म र जातको नाममा भाँडभैलो मच्चाउने र यो लोकतन्त्र र गणतन्त्रलाई समाप्त गर्ने कार्यमा लागेका छन् ।’
एमालेका कोशी प्रदेशका इन्चार्ज समेत रहेका राईले भने, ‘उनीहरूको मुख्य उद्देश्य भनेकै देशको अस्थित्वलाई संकटमा पुर्याउने, विदेशीहरूको चलखेल गर्ने अखडा बनाउने, हाम्रो पहिचान र परिचयलाई धुजाधुजा बनाउने भएकाले नेकपा एमाले र नेपाली कांग्रेस २ ठूला दल मिलेर सरकार गठन भएको छ ।’
नेता राईले नेकपा एमालेले मात्र देशलाई निकास दिन सक्ने भएकाले भ्रममा नपर्न कार्यकर्तालाई निर्देशन दिए । २ दिनसम्म चल्ने प्रशिक्षणमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य मञ्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा लगायत नेताहरूको उपस्थिति थियो ।
प्रतिक्रिया