काठमाडौं – डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । उनले आफूले मार्ग प्रसस्त गर्न पदबाट राजीनामा दिएको जानकारी दिइन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठक बस्नु अघि संसदलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । सम्बोधनका क्रममा उनले कसैले पनि आफ्नो धरातल बिर्सन नहुने बताइन् ।
उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ,’ उनले भनिन् ।
राजीनामाको पूर्णपाठः
माननीय सदस्यहरु एउटा अस्वभाविक र अप्रत्याशित घटनाका कारण बिगत केही समयदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको थियो । सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समयदेखि सभामुख विहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सिर्जना गरेका समस्याका बारेमा पनि हामी जानकार नै छौं । यस्तो स्थिति अब कायम हुनु हुँदैन ।
यसले छिट्टै निकास पाउनुपर्छ भन्ने माननीय सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्दै मैले पटकपटक सम्बन्धित पक्षहरुको ध्यानाकषर्ण गराउँदै आएको छु । र यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार तयार भएपछि आफूले मार्ग प्रशस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदन समक्ष अभिलेखित गराउन चाहान्छु । समावेशी लोकतन्त्र आम्रो संवैधानिक व्यवस्थाको मुख्य विशेषताको रुपमा रहेको छ । संविधानको यो मर्म अक्षर वा बचनबाट होइन ।हाम्रा आचरणबाट मात्र कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ ।
राज्यका हरेक अंगहरुमा समाजको वास्तविक प्रतिबिम्ब झल्किन सके मात्र वास्तविक अर्थमा लोकतन्त्र सुद्धृढ हुन सक्छ भन्ने यथार्थ रुपमा संविधान निर्माणमा अगुवाइ गर्नुहुने राजनैतिक दल नेतृत्ववर्ग सहमत हुनुहुन्छ भन्ने मैले आशा लिएको छु । यसै विषयमा केन्द्रित रहेर मैले आफ्ना धारणाहरु सम्बन्धित निकायमा प्रस्तुत गरेकी छु । मेरा यी धारणाहरु अप्रत्याशित महत्वकांक्षा र आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरा मैले नजिकबाट नियालेकी छु ।
समयले यसबारेमा बस्तुनिष्ट मूल्यांकन गर्ने नै छ भन्ने मेरो विश्वास छ । लोकतन्त्र र खुल्ला माजमा हामीले गर्ने निर्णयहरु जनताको शुक्ष्म निगरानीमा रहेका हुन्छन् । तिनको अग्नी परीक्षा समयको कसीमा घोटिएर भएझै हुन्छ । निर्णय र सार्वजनिक जवाफदेहिताकोबीचमा उचित समान्जस्यता हुनुपर्ने कुरा सबै सम्बन्धित पक्षले ध्यान पुर्याउनुपर्छ भन्ने मलाई लाग्छ । दलबाट सिफारिस वा निर्वाचित भए पनि संवौधिन ओहोदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलबाट अलग बसेको हुन्छ ।
उक्त ओहोदामा रहँदा उ दलको निर्देशनमा होइन संवैधानिक र कानुनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाकलाप गरेको हुन्छ । मैले पनि यसै अनुसार नै इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु । तर, कसैले पनि आफ्ना जराहरु बिर्सनु हुन्न । धरातल भुल्न हुन्न । र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु ।
विभिन्न पक्षहरुकाबीच यस अन्यौललाई निकास दिन चलिरहेको छलफललाई मैले सुक्ष्म अध्ययन गरिरहेकी छु । प्रतिनिधिसभामा बहुमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरुेको अवस्था । हाम्रो प्रचलित संवैधानिक र कानुनी अवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्नु आवश्यक भएको छ ।
यसैअनुसार मैले मार्ग प्रशस्त गर्ने निर्णय लिएको व्यहोरा निवेदन गर्न चाहान्छु । उपसभामुखको रुपमा विगत झन्डै दुई वर्षसम्म माननीय सदस्यहरुसँग बिताउन पाएको अवधि मेरो जीवनमा अविस्मरणीय र शुखद अवधिको रुपमा स्मृतिमा रहनेछ ।
एउटा महिला त्यसमध्ये पनि एकल अवस्थामा रहेको र जनजाती पृष्ठभूमिबाट आएको म जस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्तै महत्वपूर्ण अवसर ठानेकी छु । यसको श्रेय लोतान्त्रिक प्रणाली र राजैनतिक दलहरुलाई जान्छ ।
समावेशी लोकतन्त्र र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा अविचलित रुपमा क्रियाशिल रहिरहनेछु । मलाई कर्तव्य निर्वाहको रुपमा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद दिन चाहान्छु ।
प्रतिक्रिया