सहकारी ठगीमा ६ महिना कारागार बसेका वडा सदस्य तातेड मिलापत्रपछि रिहा

सहकारी ठगीमा ६ महिना कारागार बसेका वडा सदस्य तातेड मिलापत्रपछि रिहा


सप्तरी – सहकारी ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा विगत ६ महिनादेखि कारागारमा रहेका वडा सदस्य सिद्धार्थ तातेड रिहा भएका छन् ।

मुद्दा मिलापत्रबाट टुंगिएपछि राजविराज नगरपालिका–३ का वडा सदस्य समेत रहेका तातेड रिहा भएका हुन् । उनी ६ महिनादेखि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरूले बचत फिर्ता पाएकाले मुद्दा फिर्ता तथा मिलापत्रको कागजमा हस्ताक्षर गरेर प्रमाणीकरण भएपछि तातेड रिहा भएका छन् ।

सहकारी ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका तातेडका कानून व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका–९ का वडाध्यक्ष कर्णदेव चौधरी तथा उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुवै पक्षले मुद्दा मिलापत्र गरेपछि तातेडलाई रिहा गरिएको छ ।

राजविराजको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहेका तातेडले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले उनलाई गत साउन ३ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।