काठमाण्डु-चितवनको सिमलताल दुर्घटनाको १४ दिन बितेको छ। गत असार २८ मा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्य ३ जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए । दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ । अझै पनि खोजी कार्य जारी छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार १२ जना भारतीय टोली र अन्य आवश्यकता अनुसार नेपाली प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा टोली खोजी कार्यमा जुटिरहेको छ । तर, हालसम्म न त बसको कुनै भाग फेला परेको छ न त बेपत्ता ३४ जना यात्रुको कुनै पत्तो लाग्न सकेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोली खोजी कार्यमा जुटेको पनि साता दिन हुनै लाग्दा पनि बस र अन्य हराइरहेका ३४ जना यात्रुको कुनै पत्ता लाग्न नसकेको बताए ।
कतिदिन सम्म खोजी गरिरहने भन्ने विषयमा कुनै निर्णय नभएको भन्दै उनले आज पनि बिहानैदेखि खोजी कार्य जारी रहेको बताए ।
‘अब त आफन्तहरूको पनि दुर्घटनामा परेका आफ्ना व्यक्ति जिउँदै होला भन्ने आश मर्न थालेको छ । कतिपय घर फर्किसकेका छन् भने केही अहिले पनि चितवनमै रहेका छन् । कम्तिमा शव भएपनि लिएर जान पाए हुन्थ्यो भन्ने आशमा उनीहरू बसिरहेका छन् ।’
प्रजिअ यादवले दुर्घटनामा परेकाहरूका आफन्तहरू घर फर्के पनि सम्पर्कमै रहेको बताए । उनले भने, ‘शव भेटिएला कि भन्ने आशा मात्रै छ आफन्तहरूमा । कम्तिमा शरीर भएपनि घर लिएर जाउ भन्ने आशाका साथ आफन्तहरू घर फर्केका छन्। केहीका आफन्त भने चितवनमै छन् । हामी पनि बस वा यात्रुहरू मध्य कोही भेटिएला की भन्ने आशामै छौं । हेरौँ कति दिनसम्म खोजी जारी रहन्छ ।’
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार पछिल्लो शव ५ दिन अघि फेला परेको थियो । त्यसयता कुनै शव फेला परेको छैन । खोजी कार्य आज पनि जारी छ । शव वा बस भेटिहाल्ने हो की भन्ने आशामा खोजी कार्य जारी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया