काठमाण्डु – बागमती प्रदेशको सिन्धुली जिल्लामा नौवटा स्थानीय तह छन् । त्यसमा दुईवटा नगरपालिका र सातवटा गाउँपालिका छन् । यो जिल्लामा एमाले, कांग्रेस र माओवादीको प्रभाव उस्तै देखिन्छ । यिनै तीन दलबीच नै आगामी चुनावमा मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
गत चुनावको परिणामअनुसार नौवटा स्थानीय तह तीन दलले बराबरीजस्तो बाँडेका थिए । जिल्लामा एमालेले तीन अध्यक्ष र चार उपाध्यक्ष, माओवादीले तीन अध्यक्ष र तीन उपाध्यक्ष तथा कांग्रेसले ३ अध्यक्ष र दुई उपाध्यक्ष जितेका थिए । तीनवटै दलको उस्तै प्रभाव रहेकाले गत चुनावमा यहाँ तालमेल भएन । यसपटक एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीले पनि जिल्लामा संगठन बनाइरहेको छ ।
गत चुनावको परिणाम
०७४ सालको चुनावमा सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा एमालेले मेयर–उपमेयर दुवै जित्यो । यहाँ कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहे । अर्को नगरपालिका दुधौलीमा पनि दुवै पद एमालेले जित्यो । यहाँ मेयरमा माओवादी र उपमेयरमा कांग्रेस दोस्रो भए । त्यसबाहेक एमालेले फिक्कल गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष र तीनपाटनको उपाध्यक्ष पनि जितेको थियो ।
माओवादी केन्द्रले मरिण, सुनकोसी र हरिहरपुरगढी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष दुवै जित्यो । यी तीनवटै तहमा माओवादीले फराकिलो अन्तरको जित निकालेको थियो । कांग्रेसले गोलन्जोर र घ्याङलेख गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा तीनपाटनमा अध्यक्ष जित्यो ।
गठबन्धनको सकस र सम्भावित परिणाम
सत्तासाझेदार दलबीच सिन्धुलीमा गठबन्धन बनाउन त्यति सजिलो छैन । किनकि जिल्लामा तीनवटा पालिकामा माओवादी एक्लै र दुईवटामा कांग्रेस एक्लै जित्ने अवस्थामा देखिन्छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीको पनि जिल्लामा ठिकै प्रभाव छ ।
त्यसैले पहिले एमालेले जितेका पालिकामा पनि अहिले आफूहरूले जित्न सक्ने कांग्रेस र माओवादीको आकलन छ । यी दुई दलको यही स्वार्थका कारण गठबन्धन बनाउनेबारे छलफल अघि नबढाएको एकीकृत समाजवादीले आरोप लगाएको छ । गठबन्धन बनिहाल्यो भने पहिले जितेका पालिका राखेर एमालेले जितेका ठाउँमा मात्रै बाँडफाँड हुन सक्ने सम्भावना छ ।
यदि तीन दलबीच तालमेल भएमा एमालेले पहिले जितेका पालिका गुमाउन सक्नेछ । गठबन्धन नहुँदा पनि थोरै मतले जितेका स्थानमा एकीकृत समाजवादीका कारण उसलाई धक्का लाग्न सक्छ । चारवटै दल छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिए माओवादी र कांग्रेसलाई पहिलेको परिणाम दोहो¥याउन खासै कठिन देखिन्न । बरु एमालेलाई भने पहिले जितेका पालिका बचाउन निकै ठूलो चुनौती देखिन्छ ।
जिल्लामा दुई लाख ६ हजार तीन सय ६३ मतदाता छन् । तीमध्ये एक लाख पाँच हजार नौ सय ४२ पुरुष र एक लाख तीन सय ९३ महिला रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया