सिन्धुपाल्चोक कांग्रेसमा विवाद, जिल्ला पार्टी कार्यालय उद्घाटनमा गएनन् केन्द्रीय सदस्य बस्‍नेत

सिन्धुपाल्चोक कांग्रेसमा विवाद, जिल्ला पार्टी कार्यालय उद्घाटनमा गएनन् केन्द्रीय सदस्य बस्‍नेत


काठमाण्डु – नेपाली कांग्रेस सिन्धुपाल्चोकमा विवाद देखिएको छ । कांग्रेस जिल्ला सभापति जंगबहादुर लामा र जिल्लाकै नेता केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीचको विवाद सतहमा आएको हो । बस्नेत सिन्धुपाल्चोकका तीन कार्यकालका सभापति समेत हुन् ।

१४ औं महाधिवेशनका क्रममा भएको जिल्ला अधिवेशनमा लामा बस्नेतकै प्यानलबाट उम्मेदवार भएर सभापतिमा निर्वाचित भए पनि पछिल्लो समय दुई नेताबीच पानी बाराबारको अवस्था रहेको स्थानीय नेताहरू बताउँछन् ।

जिल्ला सभापतिमा निर्वाचित भएको एक वर्षपछिबाट जंगबहादुर र बस्नेतबीच सम्बन्ध चिसिएको सिन्धुपाल्चोकका कांग्रेस नेताहरू बताउँछन् । एक नेताका अनुसार बस्नेत र लामाबीच स्थानीय चुनावको समीक्षा कार्यक्रमबाट सम्बन्ध बिग्रिएको हो । बस्नेतले लामालाई आफू अनुकूल चलाउन खोजे पनि लामाले नमानेपछि सम्बन्ध बिग्रिएको हो ।

सभापति र जिल्लाबाटै राजनीति गरेर केन्द्रीय सदस्य बनेका लामाबीचको टकराव पार्टीको जिल्ला कार्यालय उद्घाटनमा सतहमै आएको छ । जिल्ला कार्यालय भवन उद्घाटन कार्यक्रम केन्द्रीय सदस्य बस्नेतले बहिस्कार गरेका छन् ।

१ कात्तिकमा भवनको उद्घाटन महामन्त्री गगन थापाले गर्ने कार्यक्रममा बस्नेत उपस्थित भएनन् । बस्नेतमात्रै होइन, उनी निकटका जिल्ला उपसभापति टंक कार्की, सचिवहरू भक्तध्वज बोहरा, रमेश भण्डारी पनि कार्यालय उद्घाटन कार्यक्रममा सहभागी भएनन् ।

जिल्लाको पार्टी कार्यालय उद्घाटन भइरहँदा बस्नेत दोलखाको गौरीशंकर गाउँपालिकाको उपचुनावको प्रचार प्रसारमा सहभागी भएका थिए । पार्टी कार्यालयसँगै त्यसदिन कार्यालय परिसरमा स्थापना गरिएको संस्थापक नेता बीपी कोइराला ,पूर्वसभापतिद्धय रोहिणीराज सिग्देल र विकास लामाको सालिक पनि महामन्त्री थापाले अनावरण गरे ।

सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने बस्नेतलाई निमन्त्रण गरेर पनि कार्यक्रममा उपस्थित नभएको बताएको छ । कांग्रेस सिन्धुपाल्चोकका प्रचार विभाग प्रमुख सीके चौलागाईले आफूहरूले निमन्त्रण गर्दा आउँछु भनेर अन्तिम समयमा बस्नेत कार्यक्रममा नआएको जानकारी दिए ।

यता बस्नेतले भने निकटहरूसँग पार्टीको सय दिने अभियानमा दोलखामा खटाएकोले जिल्लाको कार्यक्रममा सहभागी हुन नसकेको बताउने गरेका छन् ।

बस्नेतले आफैले पार्टी कार्यालय उद्घाटन गर्न चाहेको भए पनि सभापतिले नमानेकाले उनी कार्यक्रममा सहभागी नभएको एक नेताले बताए ।