काठमाण्डु – सुन तस्करी प्रकरणमा नाम आएका नेपाल प्रहरीका पूर्व आईजीपीलाई बयानका लागि नबोलाएकोप्रति प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रश्न गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भने, ‘सुन तस्करीमा पूर्व आईजीपीहरूको नाम आइरहेको छ, च्याटिङ पब्लिक भएको छ, मिडियामा आएको छ । पूर्व आईजीपीलाई किन बयानका लागि बोलाइँदैन ?’
विवादित पूर्व आईजीपीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख बनाउन लबिङ भइरहेकोप्रति पनि उनले आपत्ति जनाए । उनले अगाडि थपे, ‘पूर्व आईजीपी सत्तापक्षको पालिएको छ, उसलाई त उल्टै अख्तियार प्रमुख बनाउन लबिङ भइरहेको छ सत्तापक्षबाट । हामीलाई यस्तै मान्छे चाहिन्छ, जसले सुन तस्करीमा संरक्षण गरेको छ, जो सुन तस्करीसँग जोडिएको छ । किनकि त्यस्ता मान्छे सरकारका मान्छेलाई पैसा बुझाउँछ र अख्तियारको प्रमुख बनेपछि त्यस देशको अख्तियार कस्तो हुन्छ ?’
सुनकाण्डमा मुछिएका नेताका छोराछोरीलाई कारवाही नभएकोप्रति पनि उनले गुनासो गरे । उनले भने, ‘नेताका घरपरिवार गलत काममा इन्भल्ब हुँदै गए । सुन काण्डमा विभिन्न नेताका छोराछोरीको नाम आइरहेको छ तर सरकारले कारवाही गर्दैन । किनकि सत्तापक्षकै नेताका छोराछोरी हुन्, विपक्ष भए त कारवाही हुन्थ्यो । यो गणतन्त्रमा नेताका छोराछोरीलाई त्यो अधिकार कहाँबाट पायो ?’
प्रतिक्रिया