सुदूपश्चिममा भारी हिमपात, सञ्चार सम्पर्क अवरुद्ध

सुदूपश्चिममा भारी हिमपात, सञ्चार सम्पर्क अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी – शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले गएरातिदेखि यहाँका जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको हो ।

त्यस्तै यहाँका पहाडी जिल्लामा गएरातिदेखि टेलिफोन सेवा, टेलिकमद्वारा वितरित एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्णरूपमा अबरुद्ध भएको छ ।

ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिकरूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।

हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग शुक्रबार दिउँसो ३ बजेदेखि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग सञ्चालन नहुँदा यात्रुलाई निकै सास्ती भएको छ । बन्द भएको राजमार्ग खुलाउन डोटीको बुडरबाट डोजर पठाइए पनि लगातारको हिमपातका कारण खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले बताए ।

उनले भने, ‘लगातार हिमपात भइरहेको छ, राजमार्ग खोल्न स्थानीयवासी, प्रहरी तथा सडक डिभिजन कार्यालयका कर्मचारी र डोजर लागिपरे पनि खुलाउन सकिएको छैन ।’ हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रु अहिले उक्त राजमार्गको हगुल्टे भन्ने ठाउँमा अलपत्र परेका छन् ।

हिमपातसँगै चिसो बढेकाले यात्रुलाई खान, बस्नका लागि निकै कठिन भएको हिमपातमा फसेका डोटीका कृष्णराज जोशीले बताए । उनले भने, ‘लगातार हिउँ परिरहेको छ, राजमार्ग खुलेको छैन, चिसोले सताएको छ, खानेबस्ने व्यवस्था नहुँदा झन् समस्या भएको छ ।’

अहिले उक्त राजमार्गमा कम्तीमा पनि दुई फिट जति हिउँ परेको सो राजमार्गमा पर्ने घण्टेश्वर प्रहरी चौकीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवनसमेत प्रभावित बनेको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ भने दिपायललगायतका ठाउँमा वर्षासमेत भइहेको छ । हिमपातसँगै भएको वर्षात्का कारण चिसो बढेपछि स्थानीयवासी घर बाहिर निस्किन सकिरहेका छैनन् ।

उता सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा पनि भारी हिमपात भएको छ । हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले बताए ।

सदरमुकाम सिलगढी आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । हिउँ परेका डाँडामा हिउँ खेल्न जाने तथा रमाइलो गर्न जानेहरूको भीड लागेको छ । हिमपातसँगै बढेको चिसोले निमोनियालगायतका अन्य रोगको सङ्क्रमण बढ्ने भएकाले त्यसतर्फ सजग रहन तथा तातो र झोलिलो खानेकुरा खान शैलेश्वरी अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सबैमा सल्लाह दिए ।

हिमपातका कारण जनजीवन प्रभावित

ताप्लेजुङ– शुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । जिल्लाभर वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङचुङगोला, घुन्सा, याङ्मा, ग्याब्ला, फले, लेलेपलगायतका स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।

‘बाहिर एक फिटभन्दा बढी हिउँ जमिसकेको छ, अझै हिउँ पर्ने क्रम रोकिएको छैन, चिसोले घर बाहिर निस्कन सकिएको छैन’, घुन्साबाट टाँसी तेन्जिङ शेर्पाले भने ।

उत्तरी क्षेत्रका करीब तीन हजार मिटरभन्दा माथिका हिमाली भेगमा लगातार हिमपात भइरहेको छ । ‘हामी त जाडो थेग्न सक्छौँ, बूढाबूढी र बच्चाबच्चीलाई चिसोले सताउने हो, अत्यधिक चिसोले घर बाहिर निस्कन सकिएको छैन, पशुचौपायको स्याहार गर्न पनि गाह्रो छ, घरभित्रै आगो तापेर चिसो कटाइरहेका छौँ’, ओलाङचुङगोलाकी यमुना सिवाले भने ।

लामो समयपछि भएको वर्षाले किसानलाई फाइदा भए पनि वर्षासहितको हिमपातले चिसो बढेपछि भने समस्या भएको स्थानीयवासीले बताएका छन् । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा हिजोदेखि नै बाक्लो हिमपात भइरहेको छ । सो क्षेत्रमा दुई फिट बढी हिउँ जमेको स्थानीयवासी होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो ।’हिजोदेखि नै बाक्लो हिउँ परिरहेको छ, झण्डै दुई फिट हिउँ जमिसक्यो, फाट्टफुट्ट मानिस मन्दिर जानेआउने गरिरहेका छन्’, भट्टराईले भने ।

जिल्लाको सदरमुकाम फुङलिङमा समेत निकै चिसो बढेको छ । यम्फुदिन, कालिखोला, पापुङलगायतका क्षेत्रमा चिसो बढेको स्थानीयवासीले बताएका छन् । ताप्लेजुङमा आज बिहानको तापक्रम ४.६ डिग्री सेल्सियस रहेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै ताप्लेजुङमा ३६ मिलिमिटर वर्षा भएको छ ।