सामाजिक सुधारका लागी समुदाय प्रहरी साझेदारी अभियान सुरु

सामाजिक सुधारका लागी समुदाय प्रहरी साझेदारी अभियान सुरु


काठमाडौं – हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ नेपाल प्रहरीले आईतबार देशभर एकसाथ ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सुरु गर्दैंछ ।

नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा उक्त अभियान केन्द्रदेखि वडा तहसम्म एकैपटक सञ्चालन गर्न लागिएको हो।  विभिन्न अपराध एवं सामाजिक विकृति, विसंगतिविरुद्ध यो अभियान सुरु गर्न लागिएको हो ।

केन्द्रीय स्तरमा गृहमन्त्री रामबहादुर थापाले काठमाडौंको भृकुटीमण्डबाट आइतबार दिउँसो यो अभियान उद्घाटन गर्नेछन् ।यसैगरी सात प्रदेशमा मुख्यमन्त्री एवं जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखहरूले अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।

यो अभियान गाउँ–गाउँ, वडा–वडा एवं स्कुलहरूमा सञ्चालन गरिनेछ। सामाजिक विकृति, विसंगति, घरेलु हिंसा, मादक पदार्थ, साइबर अपराधविरुद्ध यो अभियान केन्द्रित हुने प्रवक्ता उत्तमराज सुवेदीले बताए।

आजबाट यो अभियान नियमित रूपमा सञ्चालन हुन्छ उनले भने, ‘सामाजिक विकृति, विसंगति र अपराधविरुद्ध हामी समुदायमा गएर जनचेतानमूलक कार्यक्रमहरू गर्छौं ।’ गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरीले उक्त अवधारणालाई अगाडि सारेको हो ।