काठमाडौँ– अर्थमन्त्री डा युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो तयारी भएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) का सम्बन्धमा सदस्यहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै उनले यस्ताे बताएका हुन् ।
उनले नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट आउने जानकारी भन्दै रकमका लागि केन्द्रमा हेर्ने र अधिकारमात्र आफू लिन खोज्ने प्रवृत्ति प्रदेश र स्थानीय सरकारले लिन नहुने भन्दै बजेटले त्यसलाई संयोजनको पहल गर्ने दावी गरे ।
‘निर्वाचनपछिको तीन तहको सरकार भएकाले वित्तीय संघीयता कार्यान्वयनका लागि आसन्न बजेटले इच्छाशक्ति बढाउनेछ, यसमा सांसदहरुको सहयोग आवश्यक पर्छ ।’ उनले भने ।
बैठकमा परशुराम मेघी गुरुङ, सुरेन्द्रराज पाण्डे, रामलखन चमार, नैनकला थापा, सरिता प्रसाईं, खेमराज नेपाली, प्रमिला गुरुङ, दुर्गाप्रसाद उपाध्याय, ठगेन्द्रप्रसाद पुरी, महेशकुमार महरा र भैरवबहादुर श्रेष्ठले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे सुझाव दिएका थिए । राष्ट्रियसभाको अर्काे बैठक आगामी जेठ ३ गते ११ बजे बस्नेछ ।
प्रतिक्रिया