काठमाण्डु – सत्तामा डेढ वर्षको हालिमुहालीपछि आफ्नै कारण प्रतिपक्षमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिनचर्या अहिले फेरिएको छ ।
आफ्नै नेतृत्वमा कांग्रेससँगको गठबन्धन सरकार भएकै बेला ४ असार २०८० मा गठन भएको समाजवादी मोर्चालाई प्रचण्डले आफू सरकारमा हुँदासम्म कुनै चासो दिएनन् । तर सरकारबाट बाहिरिएपछि उनको ध्यान मोर्चालाई सक्रिय बनाउनेतिर गएको छ ।
मोर्चामा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र बाबुराम भट्टराईको पार्टीबाट फुटेको महिन्द्र राय यादव नेतृत्वको नेसपा आबद्ध छन्।
त्यसबेला प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई कुनै न कुनै माध्यमबाट आफूसँग नजिक राख्नका लागि मोर्चाको आवश्यकता महसुस गरेका थिए । त्यसरी मोर्चा गठन गर्दा कांग्रेसलाई पनि सन्तुलनमा राख्न सकिने उनको अर्को मुख्य उद्देश्य थियो । तर,सरकारबाट बाहिरिएसँगै अब प्रचण्डको ध्यान फेरि समाजवादी मोर्चामा गएको छ र सक्रिय बनाउन लागेका छन् ।
संघीयता,लोकतन्त्र,सुशासन,समृद्धि र सामाजिक–आर्थिक न्यायसहितको समाजवाद स्थापना गर्ने उद्देश्यकाे मोर्चा बनेको हो । तर गठन भएदेखि नै मोर्चा आफ्नो निर्दिष्ट उद्देश्य र प्रतिबद्धता उन्मुख हुनुको साटो निष्क्रिय रहँदै आयो ।
समाजवादी मोर्चा सेलाउँदै जानुको कारण मध्येको एक त्यहाँ रहेका दलहरूभित्रको अन्तरविरोध पनि हो । मोर्चा घोषणा हुँदै गर्दा नै मोर्चामै सहभागी दलका कतिपय नेताले यसको भविष्यलाई लिएर विभिन्न टिकाटिप्पणी गरेका थिए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने मोर्चा यथास्थितिवादी सत्ताको वैशाखी मात्र भएको टिप्पणी गर्छन् ।
सक्रिय, निष्क्रिय, फेरि सक्रिय
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालपछि हुने भन्नु र सरकारले संसद छलेर तीन वटा अध्यादेश ल्याउनुबाट उत्पन्न राजनीति तरंगले हौसिएर प्रचण्डले मोर्चालाई फेरि सक्रिय बनाउने प्रयास गरेका छन् ।
संविधान संशोधनको विषयमा प्रधानमन्त्रीको उक्त भनाइ र सरकारले ल्याएको तीन वटा अध्यादेशबाट सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस पनि बिच्किएको छ । कांग्रेसका अधिकांश नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सत्ता गठबन्धनको सात बुँदे सहमति विपरीत रहेको र कांग्रेसले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताइरहेका छन्, साथै उनीहरूले अध्यादेशको पनि विरोध गरेका छन् ।
सत्ता गठबन्धनमा देखिएको विवादलाई ‘मौकामा चौका’ भनेर प्रचण्ड मोर्चामार्फत् फेरि सरकार बनाउने दाउमा छन् । यसका लागि उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पटक पटक छलफल गरेर देखाएको सक्रियता आफैमा रोचक छ । प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि जसपाबाट विभाजित जनता समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग गरेको भेटपनि अर्थपूर्ण रहेकाे छ ।
२६ पुसमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता श्रेष्ठ पनि मोर्चाको बैठकमा सहभागी भएपछि यसले नयाँ तरङ्ग सिर्जना गरेको छ । जबकी उनी यसअघि मोर्चाको बैठकमा थिएनन् । श्रेष्ठको पार्टी उपेन्द्र यादवको पार्टीबाट फुटेर बनेको हो ।
सुरुमा कांग्रेससँगको सत्ता साझेदारीमा प्रचण्डले ‘बार्गेनिङ पावर’ बढाउने गरी बनाएको समाजवादी मोर्चा पुनः सक्रिय बनाएर पुनः कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउने रणनीति प्रचण्डको छ ।
मोर्चामा आवद्ध दलहरूबीच भएको पछिल्ला छलफल र भेटघाटपछि बुधबारका लागि मोर्चाको बैठक बोलाइएको छ । मोर्चाले वाम तथा समाजवादी दलहरूबीच नयाँ ध्रुवीकरणको पहल गर्ने नेताहरूले दाबी गरिरहँदा यो प्रचण्डको सत्ता सारथी मात्र भएको स्वयं मोर्चाभित्र रहेका दलका नेताहरूले टिप्पणी गर्दै आएका छन्।
शनिबार ललितपुरमा भएको एक कार्यक्रमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भनेका थिए, ‘मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिस्ट विचार भएकाहरूलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको छ । संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल हुन्छ ।’
एकीकृत समाजवादीका नेता प्रमेश हमालका अनुसार अबको परिप्रेक्ष्यमा मोर्चालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ भन्ने कुरामा नेताहरूबीच सहमति भएको छ ।
कांग्रेस र एमालेबीच बढ्दो दूरीको आशंकाको लाभ प्रचण्डले मोर्चाबाट लिन खोजेका छन् । प्रतिपक्षीमा पुगेपछि संसद् र सडक तताउने भन्दै आएका प्रचण्डले मोर्चालाई सक्रिय बनाउने रणनीति लिएको देखिन्छ ।
कांग्रेस–माओवादी गठबन्धन सरकार छँदै सत्ता सहयात्रीलाई दबाबमा राख्न र आफू नेतृत्वको सरकारलाई थप बलियो बनाउने गरी प्रचण्डले मोर्चा बनाएका थिए । तर जबजब सत्तामा खटपट वा संकटको अवस्था आउँछ तब मोर्चा सक्रिय बनाउन उनी लाग्छन् ।
पार्टी विभाजनसँगै जसपा नेपाल भने मोर्चा बाहिर छ । मोर्चाको औचित्य समाप्त भइसकेको बताउँदै आएको अध्यक्ष उपेन्द्र यादव मोर्चाको पछिल्लो बैठकमा सहभागी भएका छैनन् । जबकी उनको पार्टीबाट फुटेको राजेन्द्र श्रेष्ठ सहभागी भएका छन् ।
मोर्चालाई थप विस्तार गर्ने र यादवलाई पनि मोर्चामा सक्रिय गराउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पाएका छन् । तर, संविधान संशोधनको बहसले मधेशकेन्द्रित दलहरू फेरि एकै मोर्चामा आउने सम्भावना देखिएको छ । यसका लागि यादवले पनि छुट्टै मोर्चा बनाउने तयारी गरिरहेका छन् ।
३२ सीटको ‘म्याजिक नम्बर’
प्रचण्डले कांग्रेस–एमाले गठबन्धन उल्ट्याएर बन्ने सरकार आफ्नै हुने दाबी गरेका छन् । माओवादीले पाएको ३२ अंकलाई उनले ‘म्याजिक नम्बर’को संज्ञा दिएका हुन् ।
‘मैले ३२ अंकको संख्यालाई जादुयी नम्बर भयो भनेको थिएँ । मेरो यही भनाइले उनीहरू (कांग्रेस–एमाले)अझ बढी उद्वेलित र तरंगित पनि भए होलान्,’ प्रचण्डले भनेका थिए, ‘अहिले हाम्रो संख्या फेरि पनि म्याजिक नै छ । किनभने हामीसँग ३२ अंक भएकाले प्रमुख विपक्षी दलको नेता हाम्रो पार्टीकै छ ।’
प्रचण्डले यसो भनिरहँदा माओवादीका नेताहरू अहिलेको सत्ता समीकरण भत्काउने पक्षमा आफूहरू नरहेको दाबी गर्छन् । ‘यो अहिलेको समीकरण भत्काएर नयाँ समीकरण बनाउनेतिर हामी छैनौं,’ माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा भन्छन् ।
सत्ता गुमाएलगत्तै प्रचण्डले साउन १ गते समाजवादी मोर्चाको बैठक बोलाएर ओली सरकारविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए । साउन १० देखि १५ गतेसम्म बसेको पदाधिकारी बैठकमा अब आफ्नो ध्यान सरकारतिर नभइ विचारको विकास, पार्टी निर्माणका लागि जनतामा जाने प्रतिबद्धता उनले जनाएका थिए ।
विगतमा प्रचण्डले सत्ता प्राप्तिका लागि देखाएको आशक्तिका कारण उनको प्रतिवद्धता कार्यान्वयन हुनेमा पार्टीकै अधिकांश नेताले आशंका व्यक्त गर्छन् ।
मोर्चामार्फत् अध्यक्ष प्रचण्डले पुनः सत्तामा फर्किन खुट्टा उचालेपछि माओवादी नेताहरू चिन्तित देखिएका छन् । प्रतिपक्षमा पुगेपछि पार्टीप्रति बढ्दै गएको उत्साह फेरि मर्ने हो कि भन्नेमा आशंका बढ्दै गएको छ ।
२०७२ देखि निरन्तर सत्तामा रहेका प्रचण्ड सत्ता र शक्तिको पर्यायजस्तै बनेका छन् । २०७० को दोस्रो संविधान सभा निर्वाचनबाट माओवादी सानो अंकको साथ तेस्रो दलमा खुम्चिएको थिए । यद्यपि त्यतिबेला कांग्रेस र एमालेलाई पालैपालो खेलाउँदै प्रचण्ड दुई पटक प्रधानमन्त्री बन्न सफल भएका थिए ।
२०७९ को निर्वाचनमा माओवादी ३२ अंक साथ तेस्रो दलमै खुम्चियो । पार्टीलाई आफ्नै खुट्टामा उभिने गरी संगठनलाई चलायमान बनाउनुभन्दा पनि कांग्रेस–एमालेको वैशाखी टेकेर सत्ता प्राप्तिको भर्याङ बनाएको आरोप पार्टीभित्रैबाट प्रचण्डमाथि लाग्दै आएको छ ।
प्रतिक्रिया