चितवन – स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेष्टमेन्ट कम्पनीले १ करोड ५० लाखको लगानीमा चितवनमा नयां परियोजना ‘ग्रेट वान पेभेलियन’ (उत्कृष्ट एक भण्डार) सञ्चालनमा ल्याएको छ ।
युवालाई स्वदेशमै रोजगारी दिलाउने लक्ष्यसहित हरेक मानिसलाई चाहिने कपडा एकै ठाउंमा उपलब्ध गराउन चितवनको नारायणगढस्थित ‘मिलन मार्केटमा’ सम्पूर्ण कपडाको भण्डारका रुपमा ‘ग्रेट वान पेवेलियन’ सञ्चालन गरिएको कम्पनीका प्रबन्धक ईश्वरराज अधिकारीले जानकारी दिए ।
विदेशमा बस्ने र वैदेशिक रोजगार छाडेर आएकालाई सहभागी गराई कम्पनीले कपडाको भण्डारका रुपमा यो पेभेलियन ( दोस्रो परियोजना) सञ्चालन गरेको हो ।
यसअघि कम्पनीले पहिलो परियोजना स्वरूप स्वदेशी उत्पादन ‘पल्पी’ जुसमा लगानी गरिसकेको छ । कम्पनीले अस्पताल, रिसोर्ट लगायत विभिन्न अन्य परियोजना समेत चलाउने लक्ष्य राखेको जनाइएको छ । ‘प्रवासीको आम्दानी, स्वदेशमा लगानी, प्रवासीको साथ परिवारको हात’ भन्ने मूल नाराका साथ स्थापित युथ भिजनले नेपालमै रोजगारी सिर्जना गर्न र विदेशिएकालाई स्वदेशमा फर्काउन यसरी लगानी गर्न थालेको हो ।
‘एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी,’ भन्ने नारासहित पेभेलियन सञ्चालन गरिएको कम्पनीका अध्यक्ष प्रकाश अर्यालले बताए । उक्त परियोजनामा ५१ प्रतिशत युथ भिजनको लगानी छ भने बांकी लगानी सर्वसाधारण तथा वैदेशिक रोजगारमा रहेका नेपालीको शेयर छ । प्रतिशेयर न्यूनतम २५ हजार रहेको निर्देशक मदन कंडेलले बताए । कंडेल र अधिकारी पनि वैदेशिक रोजगार छाडेर सोही परियोजनाका लागि यहां आएका हुन् ।
कम्पनीले प्रवासमा रहेकाहरुलाई पहिलो प्राथमिकता दिई अन्य संघसंस्था तथा प्रतिनिधिलाई समेत समेटेर परियोजना चलाएको हो । एकसय जनाको सामूहिक लगानी भएको उक्त कपडाको भण्डारमा लगानीकर्ताको परिवारलाई विशेष प्राथमिकता र सुविधा दिइने जनाइएको छ ।
प्रतिक्रिया