वनमन्त्रीका स्वकिय सचिवले मन्त्रालयकै सचिवमाथी गरे हातपात

वनमन्त्रीका स्वकिय सचिवले मन्त्रालयकै सचिवमाथी गरे हातपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीको विकास र शान्तिसहित सुरक्षित प्रदेशको रणनीति तयार पार्न मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनैपनि हालतमा नागरिकलाई असुरक्षा हुन नदिने प्रतिबद्धता जनाएका थिए। तर, एकदिनपछि बुधबार नै प्रदेशका मन्त्रालयका कर्मचारीले आफ्नै कार्यकक्षमा असुरक्षित भएको बताएका छन्। कर्णाली प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयमा भने मन्त्री र सचिवबीच आन्तरिक द्वन्द्वका कारण सचिवले काम गर्नको लागि असुरक्षाको वातावरण सिर्जना भएको गुनासो गरेका छन्।

मन्त्रीका स्वकीय सचिवले कार्यकक्षमा नै गएर सचिवलाई धम्क्याएपछि उनले प्रहरी बोलाएर थुनाएका थिए। बुधबार दिउँसो मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्बर बुढा र सचिव विद्यानाथ झाबीचमा हात हालाहालको स्थिति सिर्जना भएपछि मन्त्रालयभित्रको विवाद छताछुल्ल भएको हो। मन्त्री नन्दसिंह बुढा र मन्त्रालयका सचिव विद्यानाथ झाबीच भएको आन्तरिक कलहका कारण काम काजसमेत प्रभावित बनेको छ। सचिव झाबाट असहयोग भएको आरोप मन्त्री बुढाले विगतदेखि लगाउँदै आएका थिए। मन्त्री र सचिवबीच भएको अन्तर द्वन्द्वले मन्त्रालयको महत्वपूर्ण कानुन निर्माणमा ढिलाई हुने देखिएको छ।

मन्त्री बुढाका स्वकीय सचिव डम्बर बुढासहितका व्यक्तिले बुधबार मन्त्रालयका सचिव झामाथि हातपात प्रयास गरेका छन्। कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिवमाथि हातपातको प्रयास गरेपछि मस्यौदा माथिको छलफल हुन सकेन्। उनका अनुसार उक्त विधेयकको मस्यौदा माथिको छलफलका लागि बुधबार कर्मचारीको बैठक बोलाइएको थियो।

‘मन्त्री ज्यूलाई कर्मचारीले प्रयोग गरेको अवस्था छ’, कर्मचारीको नाम उल्लेख नगरी आरोप लगाउँदै उनले भने, ‘अनियमितता रोक्न खोज्दा एक जना कर्मचारी लगाएको कुराकै भरमा सरुवा गर्ने अभिव्यक्ति मन्त्रीबाट आएको छ। मन्त्रीनिकटका कर्मचारीबाटै भएको गलत व्यवहारले ठूलो दुर्घटनाबाट जोगिइएको छ।’

गत वैशाख १ गते कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट सुरु गरेको कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम माग्ने गरेका थिए। ‘अनियमित रकम’ दिन नमिल्ने बताएपछि युवालाई ल्याएर आफूमाथि कुटपिट प्रयास भएको सचिव झाको गुनासो छ। बुढाले हातपात गर्न खोजेपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको केही समयपछि छोडेको थियो। मदिरा सेवन गरेर हातपात गर्न खोज्ने मन्त्रीका स्वकीय सचिव बुढासहित पक्राउ परेका युवालाई सचिव झाले नै छुटाएका थिए। आजको अन्नपुर्ण पोष्टमा यो समाचार प्रकाशित भएको छ ।