सोलु खोलाबाट ७ महिनामा विद्युत उत्पादन, प्रसारण लाइनको समस्या

सोलु खोलाबाट ७ महिनामा विद्युत उत्पादन, प्रसारण लाइनको समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सोलुखुम्बुको सोलु खोलामा निर्माण भइरहेको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाबाट आगामी ७ महिनामा विद्युत उत्पादन हुने भएको छ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको आयोजनाको अहिले करिब ८५ प्रतिशत निर्माण पूरा भएको छ । कम्पनीका अनुसार आगामी फागुनसम्म विद्युत उत्पादन हुनेछ ।

फागुनभित्र विद्युत उत्पादनको लक्ष्य राखिए पनि प्रसारण लाइन निर्माणको भन्ने टुंगो छैन । यस क्षेत्रमा निर्माणाधीन आधा दर्जन आयोजनाबाट उत्पादित विद्युत जोड्न प्रसारण लाइनकै समस्या छ ।

सोलु खोलाको अहिले बाँध क्षेत्रमा इन्टेक, एप्रोच क्यानल (पहुँच नहर) र डिसेन्डर (बालुवा थिग्राउने पोखरी) तयार भएको छ । बाँधदेखि विद्युतगृहसम्म पानी पुर्याउने ३ हजार ९ सय मिटर लामो पाइप (लो प्रेसर) विस्तार अन्तिम चरणमा रहेको जनाइएको छ ।

पाइपलाइनको बीचको १.७ किलोमिटर सुरुङ निर्माणसमेत अन्तिम चरणमा छ । हाइड्रो तथा इलेक्ट्रो मेकानिकलतर्फको काम पूरा भएपछि परीक्षण उत्पादन सुरु हुने बताइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लम्माने सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक २.८ किलोमिटर प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।

प्रसारण लाइनको १२ मध्ये ११ वटा टावरको फाउन्डेसन तयार भएको कम्पनीले जनाएको छ । सबै फाउन्डेसन तयार गरेर टावर ठड्याउन सुरु गरिनेछ । विद्युत जोडिने १३२ केभी सोलु कोरिडोर निर्माणले गति लिन नसक्दा ३३ केभी बुईंपा–ओखलढुंगा प्रसारण लाइनबाट ओखलढुंगा सबस्टेसनमा जोड्ने तयारी छ ।

प्रधिकरणले वैकल्पिक प्रसारण लाइन र सबस्टेसन स्तरोन्नती गरे हिउँदमा सोलुको ९० प्रतिशत र बर्खामा ३५ प्रतिशत विद्युत प्रणालीमा जोड्न सकिने कम्पनीको दाबी छ ।

सोलु खोलामा सोलुसहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलुलगायत आयोजना निर्माण भइरहेका छन् । यी सबै आयोजनाका लागि प्रसारण लाइन समस्या बनेको छ । सबै आयोजना निर्माण हुँदासम्म प्रसारण लाइन तयार नभए करोडौं विद्युत खेर जाने सम्भावना छ ।