एमाले पहिलो र माओवादी दोस्रो भएको सोलुमा आगामी चुनावमा कस्तो नतिजा आउला ?

एमाले पहिलो र माओवादी दोस्रो भएको सोलुमा आगामी चुनावमा कस्तो नतिजा आउला ?


काठमाण्डु – नेपाललाई विश्वभर सगरमाथाको देश भनेर चिनिन्छ । त्यही सगरमाथा रहेको सोलुखुम्बु जिल्लामा पनि आसन्न स्थानीय चुनावको माहोल तातिन थालेको छ । यो जिल्लामा एक नगरपालिकासहित आठवटा स्थानीय तह छन् ।

अघिल्लो चुनावमा यो जिल्लामा एमालेले धेरै पालिका जितेको थियो । सोलुमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । गत चुनावमा एमालेले चारवटा तहमा प्रमुख पदमा जित निकालेको थियो । माओवादीले तीन र कांग्रेसले एक पालिकामा मात्रै प्रमुख जित्न सक्यो ।

एमालेले खुम्बु–पासाङल्हामु, दूधकोसी र सोताङ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष पद जित्यो । एमाले त्यसबाहेक नेचासल्यान गाउँपालिकामा अध्यक्ष र सोलु–दूधकुण्ड नगरपालिकामा उपमेयर पदमा समेत जित निकाल्न सफल भयो । माओवादी केन्द्रले लिखुपिके गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा महाकुलुङ र थुलुङ–दूधकोसी गाउँपालिकाको अध्यक्षमा जित निकाल्यो ।

कांग्रेसले सोलु–दूधकुण्ड नगरपालिकाको मेयर तथा थुलुङ–दूधकोसी र नेचासल्यान गाउँपालिकाको उपाध्यक्षमा पनि जितेको थियो । विगतको चुनावी परिणामा हेर्दा सोलुमा धेरै गाउँपालिकामा कम मतान्तरले परिणाम निस्किएको छ । एमालेले खुम्बु–पासाङल्हामुको अध्यक्षमा जम्मा २२ मतले जितेको थियो भने नेचासल्यानमा पनि उसले ४२ मतान्तरले अध्यक्ष जित्यो ।

सम्भावित परिणाम

जिल्लामा एमाले, माओवादी र कांग्रेस क्रमशः शक्तिशाली दल देखिन्छ । यीमध्ये दुई दल मिले अर्कोलाई चुनाव जित्न समस्या देखिन्छ । यसबाहेक सोलुका कतिपय स्थानीय तहमा जनता समाजवादी पार्टीको पनि प्रभाव छ । एमालेले जितेका स्थानीय तहमा मतान्तर कम छ । ती पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन बन्दा एमालेलाई जित्न गाह्रो हुने देखिन्छ ।

उदाहरणका लागि खुम्बु–पासाङल्हामु, दूधकोसी र नेचासल्यान गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भए एमालेले अघिल्लोपटक जितेको पद गुमाउनुपर्ने हुन सक्छ । सोताङमा पनि दुई दल मिले एमालेको अध्यक्षमा कम मत हुन्छ ।

सत्ता साझेदार दलबीच तालमेल इमानदारीपूर्वक पालना भए सोलुखुम्बुभर नै एमालेलाई समस्या हुनेछ । तर, त्यस्तो सम्भावना कम देखिन्छ । किनकि जिल्लामा सत्ता गठबन्धनका दलबीच विवाद छ । त्यसैले परिणाम पूर्ण रूपमा गठबन्धनका पक्षमा नजान सक्छ । तर, एमालेलाई पहिलेकै नतिजा दोहो¥याउन भने कठिन छ ।

सोलुखुम्बु जिल्लामा कुल ८० हजार १९ मतदाता छन् । तीमध्ये ४१ हजार २ सय ६० पुरुष र ३८ हजार ७ सय ५९ महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।