जुडो खेलाडी सोनियाले पाइन ओलम्पिक वाइल्ड कार्ड

जुडो खेलाडी सोनियाले पाइन ओलम्पिक वाइल्ड कार्ड


काठमाण्डु – नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् । योसँगै उनले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् ।

ओलम्पिकमा नेपालबाट पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भएतापनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।

सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी दिए । उनले दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाका लागि पहल गरिएकामा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए ।

नेपाल पुलिसमा आबद्ध सोनिया हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकूदकी कास्य पदक विजेता खेलाडी हुन् । सोनियाले २०१९ मा बङ्गलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छन् ।