सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे सरकारले छानबिन गर्ने

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे सरकारले छानबिन गर्ने


काठमाण्डु – सरकारले आज सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्ने भएको छ । दुर्घटनास्थलमा पुगेका गृहमन्त्री रमेश लेखकले घटनाबारे छानबिन गर्ने बताएका हुन् ।

‘दुःखद् घटना भयो । यसको छानबिन गर्छौं,’ घटनास्थलको निरीक्षणपछि गृहमन्त्री लेखकले भने ।

गृहमन्त्री लेखकलेविमानमा रहेका १९ जना मध्ये १८ जनाको निधन भएको र उनीहरू सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेको जानकारी आएको बताए ।

‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल उद्वारमा खटेको छ। सुरक्षा निकायका प्रमुखहरु पनि घटना स्थलमा पुग्नुभएको छ । घटना भइसकेपछि राज्यले गर्नुपर्ने काम गरेको छ । बाँकी छानबिनपछि विस्तृतमा बताउछौँ,’ गृहमन्त्री लेखकले भने ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।