दक्षिणी अफगानिस्तानमा १२ आतङ्ककारी मारिए

दक्षिणी अफगानिस्तानमा १२ आतङ्ककारी मारिए


टिरिन – अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

हवाई कारबाहीमा तालिबान समूहका एकजना प्रमुख कमाण्डर मुल्लाह जनानको पनि मृत्यु भएको सेनाको विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानमा सशस्त्र युद्ध जारी राखेको तालिबान समूहले यस विषयमा केही टिप्पणी गरेको छैन ।

सो क्षेत्रमा केही समययतादेखि तालिबानहरुको ठूलो चहलपहल हुन लागेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको सेनाले जनाएको छ । रासस – सिन्ह्वा