दक्षिण कोरियामा महाअभियोग लगाइएका राष्ट्रपति पक्राउ गर्न घरमै पुगे प्रहरी

दक्षिण कोरियामा महाअभियोग लगाइएका राष्ट्रपति पक्राउ गर्न घरमै पुगे प्रहरी


काठमाण्डु- दक्षिण कोरियाका महाअभियोग लगाइएका राष्ट्रपतिलाई अनुसन्धानकर्ताहरूले पक्राउ गर्न खोज्दा नाटकीय घटनाहरू भइरहेका छन् ।

प्रहरी अधिकारीहरू राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका छन् । डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको मार्शल ल लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो ।

यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई कानुनविपरीत भन्दै त्यसलाई चुनौती दिने बताएका छन् । यउलको सुरक्षा दिने फौजले पनि उनलाई पक्राउ गर्नबाट रोकिरहेको बताइएको छ ।

यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो ।

उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए । सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ । त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ । तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

डिसेम्बर १४ मा उनीविरुद्ध सांसदहरूले महाभियोग प्रस्ताव पारित गरेपछि यउल निलम्बनमा परेका थिए । उनलाई लगाइएको महाभियोगलाई उक्त देशको संवैधानिक अदालतले स्वीकृत गरिदिएमा मात्र उनी पदबाट पूर्ण रूपमा निष्कासित हुनेछन् ।

कोरियाको संवैधानिक अदालतमा कम्तीमा नौ जना सदस्य हुन्छन् ।

त्यसमध्ये कम्तीमा छजना न्यायाधीशहरूले यउलको महाअभियोगलाई संवैधानिक ठाने भने मात्र उक्त निर्णय पारित हुन्छ । यउल र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक संकट गहिरिएको छ ।

यदि उनी पक्राउ परे भने पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्ने छन् । मार्शल ल लागु गर्न खोजेपछि उनीविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो ।

राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ–मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ ।