दक्षिण कोरिया- दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारीअनुसार दुवै नेताहरुले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गरेका हुन् । उनीहरुका बीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको थियो ।
सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो । औपचारिक वार्ता अगाडी किमलाई मुनले सैन्य प्रदर्शनी अगाडी अभिवादनसहित भव्य स्वागत गरेका थिए । उनीहरुको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो ।
सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया गएका हुन् । स्थानीय समयानुसार शुक्रबार विहान ९ः३० बजेतिर दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुगेका थिए । बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उनले ‘शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ’ भनी लेखेका छन् ।
दुई कोरियाका नेताको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम बीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ । अहिलेको शिखर बैठकले नै ट्रम्प र किमको शिखर बैठक के कस्तो हुनेछ भन्ने संकेत गर्नेछ । ट्रम्प र किमको शिखर बैठक अगाडी दक्षिण कोरियाका नेता मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउदै ट्रम्प–किम वार्ताकोलागि सहजीकरण गर्नेछन् । ।
ट्रम्प र किमको भेटवार्ता हुनु भन्दा अगाडी मे महिनाको मध्य तिर मुनले ट्रम्पलाई भेट्ने तयारी गरेका छन् ।
प्रतिक्रिया