काठमाण्डु-दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशमा सैन्य कानुन लागू गर्ने आफ्नै घोषणा संसदमा व्यापक विरोध भएपछि फिर्ता लिएका छन् ।
सैन्य कानुन अर्थात् ‘मार्सल ल’ लागू गर्ने राष्ट्रपति योलले अप्रत्यासित रुपमा घोषणा गरेका थिए । तर विपक्षी दलका मात्र नभइ सत्तापक्षीय सांसदहरूले समेत त्यसको विरोधमा संसदमा मतदान गरेका थिए ।
राष्ट्रियसभामा उपस्थित १९० सांसदले सर्वसम्मतिले यो निर्णयको विरोध गरेका थिए । त्यसपछि मार्शल ल हटाइएको हो ।
व्यापक विरोध र प्रदर्शनपछि राष्ट्रपति योलले आफ्नै घोषणा दुई घण्टा नबित्दै फिर्ता लिन बाध्य भए । राष्ट्रपतिको घोषणा लगत्तै राष्ट्रपति कार्यालयको भवनभित्र पस्न प्रदर्शनकारीहरूले बार तोडफोड गरेका थिए । साथै सडकमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो ।
एक्कासी सैनिक शासन लागू भएको विरोधमा संसदबाहिर भेला भएका प्रदर्शनकारीहरूले खुशीयाली मनाएका छन् । ‘मार्शल ल’ लागू हुँदा संकटकालमा सैन्य अधिकारीहरूले शासन गर्न पाउनेछन् ।
यदि त्यसो हुनगए नागरिकका अधिकार हनन् हुनसक्ने भन्दै उक्त कानुनको व्यापक विरोध भएको हो ।
दक्षिण कोरियाका राष्ट्रपति योलले भने, ‘राष्ट्रिय सभाको मागमा मार्सल ल (सैनिक कानुन) हटाइएको छ र सेना फिर्ता गरिएको छ । म राष्ट्रिय सभाको मागलाई स्वीकार गर्दछु ।’
मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले देशमा मार्सल लको घोषणा गरेका थिए । राष्ट्रविरोधी तत्वलाई हटाउन यो कदम चालिएको उनले दाबी गरेका थिए ।
प्रतिक्रिया