अख्तियारमा कार्यरत एसपी थापा तानिए हनी ट्रयाप प्रकरणमा, खोसियो जिम्मेवारी

अख्तियारमा कार्यरत एसपी थापा तानिए हनी ट्रयाप प्रकरणमा, खोसियो जिम्मेवारी


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक कमल थापा हनी ट्रयाप प्रकरणमा तानिएका छन् । यस प्रकरणमा छानबिनका लागि प्रहरी मुख्यालयले अख्तियारबाट थापालाई प्रहरी मुख्यालयमा तानेको स्रोतले जानकारी दियो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्नामा प्रहरी उपरीक्षक थापामाथि छानबिन भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको हो ।

ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा निरीक्षक बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार छिन् ।

निरीक्षक थापासँगको कनेक्सनका आधारमा एसपी थापाबारे प्रहरीले छानबिन थालेको हो । थापामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले महिला बालबालिका सेवा निर्देशनालयमा कार्यरत एसएसपी दिपेन्द्र जिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै दिएको उजुरीका आधारमा निरीक्षक शाहीले ललितपुरको लुभु बस्ने घरजग्गा व्यवसायीलाई बोलाएर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको असुलिएको थियो ।

त्यही आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमालसहित ४ जना थुनामा छन् । थुनामा हमालबाहेक सुस्मा विक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा छन् । सहायक हवल्दार निरीक्षकर शाहीका सवारी चालक हुन् ।

‘हनिट्रयाप’का मुख्य योजनाकार ताज मुल इस्लाम एसपी थापासँग परिचित थिए । थापाको सिफारिसका आधारमा निरीक्षक शाहीले व्यवसायीलाई दबाब दिएर रकम असुलेको प्रारम्भिक छानबिन निष्कर्ष छ ।

घटनाको छानबिन गर्न बनेको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले एसपी थापालाई पनि छानबिनको दायरामा ल्याउन सिफारिस गरेपछि थापामाथि छानबिन अघि बढाइएको हो ।