भ्यालेन्सिया स्पेनिस ला लिगाकाे शीर्ष स्थानमा

भ्यालेन्सिया स्पेनिस ला लिगाकाे शीर्ष स्थानमा


एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया र मालोर्काले अपराजित यात्रा कायम राखेका छन् । घरेलु मैदान मेस्टाला स्टेडियममा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले डिर्पोटिभो अलाभेसलाई ३-० गोलले हरायो । अर्को खेलमा मालोर्काले स्पान्योललाई १-० गोलले स्तब्ध बनायो ।

जितसँगै भ्यालेन्सिया तालिकाको शीर्षस्थानमा उक्लिएको छ । तीन खेलमा अपराजित भ्यालेन्सियाले सात अंक बनाएको छ । समान सात अंक बनाएको मालोर्का दोस्रो स्थानमा उक्लिएको छ । मालोर्का गोल अन्तरका आधारमा पछाडि छ । भ्यालेन्सियासँग पराजित अलाभेस अंक बिहिन बन्दै तालिकाको अन्तिममा छ । दुई अंक बनाएको स्पान्योल १५औं स्थानमा छ ।

एकपक्षीय खेलमा भ्यालेन्सियालाई जिताउन ड्यानियल वास, कार्लाेस सोलेर र गोन्कालो गुइडेसले गोल गरे । पहिलो हाफमा दुई गोल गरेको भ्यालेन्सियाका लागि ड्यानियलले तेस्रो मिनेटमै खाता खोले । उनले डेनिस चेरिसेभको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा कार्लोस सोलेरले गोन्कालो गुइडेसको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

६०औं मिनेटमा गोन्कालो गुइडेसले म्याक्सिमिलियानो गोमेजको पासमा गोल गर्दै भ्यालेन्सियालाई सहज जित दिलाए । भ्यालेन्सियाले ५२ प्रतिशत बल पोसेसनमा राखेको थियो । यता ४८ प्रतिशत बल पोसेसनमा राखेको अलाभेसले गोल फर्काउन सकेन । भ्यालेन्सियाका मिडफिल्डर कार्लोस सोलेर ‘म्यान अफ दी म्याच’ भए ।

घरेलु मैदानमा खेलिएको अर्को प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन डानियल रोड्रिग्वेज नायक बने । डानियलले २७औं मिनेटमा स्पान्योलका डिफेन्सको कमजोरीमा गोल गरेका थिए । यता खेलको अन्तिममा १० खेलाडीमा समेटिएको स्पान्योल हार खेप्न बाध्य बन्यो । इन्जुरी समयमा सर्गी गोमेज सोझै रातो कार्ड पाउँदै बाहिरिएका थिए । मालोर्काका जापानी विङगर टेकफुसा कुबो ‘म्यान अफ दी म्याच’ भए ।

ला लिगा अन्तर्गत शनिबार राति रियल म्याड्रिड र रियल बेटिस, लिभान्ते र रियल सोसिडाड, एथलेटिक बिल्बाओ र सेल्टाभिगो तथा सेभिया र इल्चेबीच प्रतिस्पर्धा हुनेछ ।