काठमाण्डु – गृहमन्त्री रमेश लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याललाई मौखिक स्पष्टीकरण सोधेका छन् । कवारी र अर्याललाई गृह मन्त्रालयमा बोलाएर मंगलबार मन्त्री लेखकले मौखिक स्पष्टीकरण सोधेका उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
मन्त्री लेखकको सचिवालय स्रोतका अनुसार अर्याललाई उनले दिएको अभिव्यक्ति र कवारीलाई महोत्तरी जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा घूससहित पक्राउ परेको विषयलाई लिएर स्पष्टीकरण सोधिएको हो ।
मंसिर ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा अशोककुमार यादवलाई २० हजार रुपैयाँ घूससहित पक्राउ गरेको विषयमा प्रमुख जिल्ला अधिकारी कवारीलाई गृहमन्त्री लेखकले मौखिक स्पष्टीकरण लिएको सचिवालय स्रोतले जानकारी दियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले ३० कात्तिकमा उपभोक्ता हित संरक्षण मञ्चको २९ औं केन्द्रीय वार्षिक साधारणसभामा आम्दा अस्पतालमा १३ मंसिर २०८० मा भएको सुत्केरी मृत्यु घटना सम्झिँदै चिकित्सकमाथि सामान्य हातपात र अस्पतालमा सामान्य तोडफोड प्रशंग निकालेका थिए । त्यो घटनामा चिकित्सकहरुको व्यवहार राम्रो नभएको र आफूलाई नेपाल चिकित्सक संघको नेतृत्वले घटनामा संलग्नलाई पाँच वर्ष कैद सजायका लागि कारवाही अगाडि बढाउन आग्रह गरेको तर त्यसलाई आफूले अस्वीकार गरेको बताएका थिए । त्यो अभिव्यक्रि विवादित भएको थियो ।
प्रतिक्रिया