फागुन १६ र १७ गते श्रम तथा रोजगार सम्मेलन हुने

फागुन १६ र १७ गते श्रम तथा रोजगार सम्मेलन हुने


काठमाण्डु-सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्ने भएको छ । पाँचौं संस्करणको यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवद्र्धन दशकको अवधारणालाई मूर्तरूप दिन सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ । वैदेशिक रोजगारका क्षेत्रमा देखिएका चुनौतीको विश्लेषण गरी अगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेका अनुसार सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञलगायत पाँच सयजनाको सहभागिता रहने छ ।

‘अहिले नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको छ’, प्रवक्ता घिमिरेले भने, ‘सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमन मात्रै नभई र प्रवद्र्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ ।’

मन्त्रालयले यसअघि पनि चारवटा सम्मेलन आयोजना गरिसकेको छ । यसअघिका सम्मेलनमा गर्न नसकिएका काम र कमीकमजोरी सुधार गर्दै अगाडि बढ्ने मन्त्रालयका निर्देशक घिमिरेले विश्वास व्यक्त गरे ।

सम्मेलनमा विशेषगरी वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनमाथि छलफल गरिने छ ।