२७ वर्ष पछि घरेलु मैदानमा श्रीलङ्काको जित, भारत ११० रनले पराजित

२७ वर्ष पछि घरेलु मैदानमा श्रीलङ्काको जित, भारत ११० रनले पराजित


काठमाण्डु-भारतविरुद्धको ३ खेलको एकदिवसीय श्रृङ्खला श्रीलङ्काले जितेको छ ।

गएराति श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा भएको खेलमा श्रीलङ्काले भारतलाई ११० रनले हराउँदै सिरिजमाथि २–० ले कब्जा गरेको हो । श्रीलङ्काले भारतलाई २७ वर्ष पछि घरेलु मैदानमा पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको श्रीलङ्काले निर्धारित ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २४८ रन बनायो । २४९ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीम श्रीलङ्कन बलरसामु निरिह देखिए । भारतीय टीम मात्र २६ दशमलव १ ओभेरमै अलआउट हुँदै १३८ रनमै समेटियो । भारतका कप्तान रोहित शर्माले ३५ रन बनाउँदा वासिङ्गटन सुन्दरले ३० रनको पारी खेले । विराट कोहली २० रनमा आउट हुँदा रियान पराग १५ रनमा पभेलियन फर्के । त्यसबाहेक अन्य कुनैपनि खेलाडी मैदानमा धेरै बेर टिक्न सकेन ।

भारतलाई सस्तोमै समेट्न डुनिथ वेल्लालगेले सर्वाधिक ५ विकेट लिँदा जेफरी वान्देरसे र महिश थिकसानाले समान २÷२ विकेट हात पारे । जबकी असिथ फर्नान्डोले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ्ग गरेको श्रीलङ्काका अभिस्का फर्नान्डोले सर्वाधिक ९६ रनको पारी खेले भने कुशल मेन्डिसले ५९ रन जोडे। पथुम निसाङ्का ४५ र कामिन्डु मेन्डिसले २३ रन जोेडे ।

सिरिजको पहिलो खेल बराबरीमा टुङ्गिएको भएपछि दोस्रो खेलमा श्रीलङ्काले भारतलाई ३२ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा ११० रनले जित हात पारेको छ । टी–२० सिरिज भने भारतले जितेको थियो ।