श्रीलंकामा नयाँ मन्त्रीमण्डल गठन, राष्ट्रपति सिरिसेनाले अाफै राखे रक्षा मन्त्रालय

श्रीलंकामा नयाँ मन्त्रीमण्डल गठन, राष्ट्रपति सिरिसेनाले अाफै राखे रक्षा मन्त्रालय


कोलोम्बो – श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ मन्त्रीमण्डलका सदस्यहरुलाई सपथ ग्रहण गराएका छन्। अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई अपदस्त गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे पछि त्यहाँ राजनीतिक सकंट उत्पन्न भएको थियो ।

संसद र अदालतले भने राजापाक्षेलाई प्रधानमन्त्रीका रुपमा मान्यता दिएको थिएन। संसद्ले दुईपटक राजापाक्षेविरुद्ध अविश्वासको प्रस्तोव पारित गरेको थियो भने सर्वोच्च अदालतले राजापाक्षे नेतृत्वको सरकारलाई काम नगर्न आदेश दिएको थियो।

गत आइतवार युनाइटेड नेशनल फ्रन्टका नेता रनिल विक्रमासिङ्गेले प्रधानमन्त्रीका रुपमा सपथ लिएपछि नयाँ मन्त्रीमण्डल गठन भएको हो। नयाँ सरकारमा २९ जना मन्त्रीहरुले सपथ लिएका छन्। संवैधानिक रुपमा विक्रमासिङ्गेको सरकारमा ३० जना मन्त्री सम्म रहन सक्छन्।

राष्ट्रपति सिरिसेनाले रक्षा, माहवेली र वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री विक्रमासिङ्गेलाई भने राष्ट्रिय नीति, आर्थिक मामिला, युवा लगायतका मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ। नयाँ मन्त्रीमण्डलमा पुरानो सरकारमा मन्त्री भएका केही नेताहरुलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको र केहीको भने मन्त्रालय परिवर्तन गरिएको जनाइएको छ।