उपन्यासकार खनालको निधन

उपन्यासकार खनालको निधन


काठमाण्डु-जासुसी उपन्यासकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । उनको बिहीवार ९४ वर्षको उमेरमा निधन भएको हो ।

उनको २०२२ सालमा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो । त्यसपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छऔंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ उपन्यास लेखे । यसैगरी डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घन्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नांगिएकी सुन्दरी’ पनि लेखेका छन् ।

साथै राम महर्जन सिरिजमा ‘हङकङको व्यापारी’, ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’ नामक जासुसी उपन्यास पनि उनैले लेखेका हुन् । नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य रहेका उनी त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्य समेत भएका थिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।