काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सिनियर प्रहरी उपरीक्षक (एसपी) हरूलाई पन्छ्याएर जुनियरलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न खोजेपछि बढुवा अन्यौलमा परेको छ ।
२५ एसएसपीका लागि २ ब्याचका ६ लटमा बढुवा भएका एसपीहरू प्रतिष्पर्धामा छन् । तर दोस्रो ब्याचको पनि अन्तिम अर्थात् चौथो लटमा एसपीमा बढुवा भएका चक्रराज जोशीलाई कुनै पनि हालतमा बढुवा गर्नुपर्ने गृहमन्त्री लेखकको अडानपछि बढुवा अन्यौलमा परेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । जोशी अहिले गृहमन्त्री लेखककै गृहजिल्ला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत छन् ।
अहिले एसएसपीमा बढुवा हुन २०५६ र २०५८ सालमा प्रहरीमा भर्ना भएका अधिकृतहरू प्रतिष्पर्धामा छन् ।
२०५६ सालमा भर्ना भएका गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल समेत एसएसपीका प्रमुख दाबेदार हुन् । उनीहरू ०७५ सालमा एसपी बनेका थिए । त्यही ब्याचका तर केही समयपछि एसपी बढुवा भएका एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीव बस्नेत, रामप्रकाश साह र केदार खनाल पनि एसएसपीका दाबेदार छन् ।
२०५८ सालमा भर्ना भएकाहरू ५ लटमा एसपी भएका छन् । तीमध्ये चौथो लटमा एसपी भएका जोशी लेखकको पहिलो रोजाइमा परेपछि समस्या भएको छ ।
२०५८ सालमा भर्ना भएका मध्य पहिलो लटमा २०७५ सालमा एसपी भएमा रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, कृष्णप्रसाद कोइरालासहित १५ जना छन् ।
यही ब्याचबाट दोस्रो लटमा २०७७ सालमा होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौरसहित १६ जना छन् ।
तेस्रो लटमा २०७७ माघ २० गते भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्लेसहित १५ जना बढुवा भएका थिए । यही ब्याचको चौथो टोली २०७८ मंसिरमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिनासहित ५ जना बढुवा भएका थिए । तीमध्ये पनि तेस्रो नम्बरमा बढुवा भएका जोशीलाई गृहमन्त्री लेखकले बोकिरहेका छन् ।
यही ब्याचबाट अन्तिम लटमा २०७९ सालमा सीताराम रिजाल, भीमकिरण बोगटीसहित ८ जना छन् । ३ वर्षअघि एसपी भएकाहरूलाई रोकेर चौथो ब्याचामा बढुवा भएका जोशीसहित केही अधिकारीलाई बढुवा गर्न लागेपछि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवर पनि असन्तुष्ट देखिएको निकटस्थ स्रोत बताउँछ ।
मन्त्री लेखक र महानिरीक्षक कुँवरबीच नै कुरा नमिलेपछि बढुवा प्रक्रिया रोकिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
गत भदौबाट खाली हुन सुरु भएको एसएसपी पदमा केही दिनअघि डीआईजी बढुवा भएपछि रिक्त संख्या २५ पुगेको छ ।
प्रतिक्रिया