एकै दिन ११२ उपसचिवसहित १२६० कर्मचारी सरूवा

एकै दिन ११२ उपसचिवसहित १२६० कर्मचारी सरूवा


काठमाडौंः सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ।

 

 

सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो।

 

 

निर्वाचन आचारसंहिता सुरु भइसके पनि स्थानीय तहका लागि कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले सहमति दिएपछि मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो। यसअघि सरकारले बुधबार ८० कर्मचारी सरुवा गरेको थियो।

 

 

निजामती सेवा नियमावलीअनुसार भदौ महिनाभरि कर्मचारीलाई अन्तरमन्त्रालयमा सरुवा गर्ने समय भए पनि निर्वाचन आचारसंहिताका कारण सरुवा रोकिएको थियो। निर्वाचन आयोगले आचारसंहिताका कारण अन्य मन्त्रालयको कर्मचारी सरुवा भने रोक लगाएको छ।

 

 

११२ उपसचिव सरुवा
सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका एक सय १२ उपसचिव स्थानीय तहमा काजमा खटाएको छ। यस्तै, सरुवा गरिएमध्ये ७५ जना शाखा अधिकृत छन्। मन्त्रालयले ६ सय ८१ जना सुब्बालाई पनि स्थानीय तहमा खटाएको छ । यसैगरी, ३ सय ९२ जना खरदारलाई पनि स्थानीय तहमा काजमा खटाएको छ।

 

 

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका खरदारमध्ये अधिकांश खरदार सिंहदरबारस्थित विभिन्न मन्त्रालयअन्तर्गतका छन्।

 

सामान्य प्रशासन मन्त्रालयले सिहदरबारमा रहेका २ सय २ जना खरदारलाई स्थानीय विकास मन्त्रालयमा खटाउने नीति लिएको छ। सोही नीतिअनुसार अहिले अधिकांश खरदारलाई स्थानीय तहमा खटाएको हो।

 

 

स्थानीय तहमा अझै कर्मचारी खटाइने
सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि अझै कर्मचारी खटाउने जनाएको छ। सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले राजधानी केन्द्रित कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउने प्रक्रियालाई जारी राख्ने बताए। उनले भने, ‘निर्वाचन आयोगसँग सहमति लिएर स्थानीय तहमा कर्मचारी खटाउने काम निरन्तर भइरहन्छ।

 

 

मेरो जिम्मेवारी नै स्थानीय तहमा कर्मचारी खटाउने र संघका कर्मचारीलाई समायोजनमा पठाउने हो।’ उनले स्थानीय तहमा अझै २५ सय कर्मचारी तत्काल पठाउनुपर्ने बताए।

 

 

यो खबर पुष्प ढुंगानाले आजको नयाँ पत्रिकामा लेखेका छन्।