दक्षिण एसियाली स्ट्रिट डिफेन्स भोलिदेखि

दक्षिण एसियाली स्ट्रिट डिफेन्स भोलिदेखि


काठमाण्डु- प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिवारदेखि काठमाडौंमा हुँदैछ ।

नेपाल जितकुन्डो मार्सल आटर्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

आयोजक नेपालसहित भारत, बाङ्लादेश र श्रीलंकाका गरी कुल ७० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । संघका अध्यक्ष रामबहादुर ठकुरीले ब्रुस लीको सिद्धान्तबाट सुरु यस खेलको थप विकास गर्न नेपालमा अन्तर्राष्ट्रिय च्याम्पियनसिप गरिएको बताए ।

प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ ।

महिलामा भने ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा मात्र प्रतिस्पर्धा रहेको छ । हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । स्वर्ण पदक विजेतालाई ४१ हजार र अन्यलाई पनि पुरस्कारको व्यवस्था गरिन सक्ने उनको भनाइ छ ।