काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा कुटाकुट भयो । नेतृत्व चयनको चरणमा नपुग्दै कुटाकुट भएको छ ।
राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र सकिएर बन्दसत्रमा उमेर हद लागू गर्ने विषय उठ्यो । संगठनमा बुढा नेताहरूको हालिमुहाली भएपछि कलिला विद्यार्थीहरूले उमेर हदको विषय उठाएका थिए ।
बन्दसत्रमा उमेर हदबारे सहमति हुन नसकेपछि निर्वाचनमार्फत नै उमेर हदको विषय टुंग्याउन खोज्दा कुटाकुट भएको छ । सम्मेलनमा एकपक्षले उमेर हद लागू गर्नै नचाहेको र बुढाहरूलाई नै विद्यार्थी नेता बनाइराख्न चाहेको आरोप छ ।
क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन लफडा भएसँगै अनिश्चित बनेको छ । काठमाण्डुको कीर्तिपुरमा असोज १० गतेदेखि जारी सम्मेलनमा आईतबार पनि सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्दसत्र हलमा आन्दोलन भएको थियो ।
लफडा भएपछि बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । जसअनुसार क्रान्तिकारीमा एकपल्ट उमेर हदका लागि र अर्काेपल्ट नेतृत्व चयनका लागि मतदान हुने अवस्था थियो । संगठनको केन्द्रीय कमिटीमा बस्न २८, ३० र ३२ वर्षे उमेरको विकल्प राखेर मतदान गराउन खोजिएको थियो ।
हाल सम्मेलनमा उपाध्यक्षहरू पवन कार्की, नारायण खनाल र तुकमान महरा तथा महासचिव दिपेश पुनले अगुवाइ गरिरहेका छन् । यी सबै नेताहरू ३२ वर्ष नाघेका अर्थात् बुढा नेताहरू हुन् । यी नेताहरूमध्ये उपाध्यक्ष तुकमान महरा पक्षले उमेर हद लागू गराउन चाहेको एक प्रतिनिधिले जानकारी दिए । ‘महरा कमरेड राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बन्ने दाउमा हुनुहुन्छ, उमेर हद लागेपछि उहाँ अध्यक्ष पाउनुहुन्न, त्यसैले लफडा गरेर उमेर हद रोक्नेतिर लाग्नुभएको देखिन्छ,’ ती प्रतिनिधिले भने । महरा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन् । उमेर हद लागू गराउन नचाहेको पक्षले लफडा गरेर सम्मेलनलाई अनिश्चित गराएको जनाइएको छ ।
‘उमेर हद लागू हुँदा हालका पदाधिकारीहरू कोही पनि अध्यक्ष हुन पाउँदैनन्, क्रान्तिकारीको केन्द्रीय अध्यक्षदेखि सबै पदाधिकारी नयाँ पुस्ताबाट आउने सम्भावना छ,’ स्रोतले भन्यो, ‘त्यसैले बुढा नेताहरूले उमेर हद लागू गराउन चाहेका छैनन् ।’
उमेर हद लागू भए नेतृत्वमा नयाँ पुस्ताबाट पुल्चोक क्याम्पसका सभापति रोशन थापामगर, कोशी प्रदेश अध्यक्ष हेमन्त राई लगायतको नाम चर्चामा छ । क्रान्तिकारीको केन्द्रीय समितिमा उमेर हद लागू भएर नयाँ पुस्ता आएमा प्रदेश, विश्वविद्यालय, जिल्ला तहसम्मै नयाँ पुस्ताको नेतृत्व आउने सम्भावना छ ।
‘क्रान्तिकारी विद्यार्थीको नाममा राजनीति गर्न पाइने बाटो बन्द हुने भएपछि लफडा गरिएको छ,’ स्रोतले भन्यो, ‘उमेर हद लागू गर्नुपर्ने र लागू हुन नदिने पक्षबीच मुख्य विवाद हो । पार्टी नेतृत्वले उमेर हद लागू गर्न २८, ३० र ३२ वर्षको विकल्प दिएको छ । ३२ वर्षे उमेर हद पनि लागू हुन नदिने खेल भइरहेको छ ।’
लफडा भएपछि अब सम्मेलनमा प्रहरी घुसेको छ र पार्टी नेतृत्वले थप निर्देशन दिनुपर्ने अवस्था आएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया